शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई नन्दप्रसाद जानुका स्मृति सम्मान
काठमाडौं : यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३ शिक्षादेवी इन्जिनियर आत्माकृष्ण श्रेष्ठले पाएका छन्। नन्दप्रसाद जानुका फाउन्डेसनले २५ हजार नगद र सम्मान पत्रसहित प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान यो वर्ष दोलखाको शैक्षिकसँगै समग्र विकासमा क्रियाशील श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिए।
भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिने उनले बताए। नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त भएका ८८ वर्षीय श्रेष्ठ गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका संस्थापक तथा अध्यक्ष, गौरीशङ्कर सामुदायिक पुस्तकालय चरिकोटका संस्थापक तथा अध्यक्ष हुन्।
उनी अन्य सामाजिक संस्थाहरूमा समेत संलग्न छन्। फाउन्डेसनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रूपान्तरणका माध्यमबाट दोलखामा सक्रिय व्यक्तिहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ।
असार २८, २०८३ आइतबार २१:०७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।