गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति, पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति, खर्च सबै महानगरले बेहोर्ने
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी र मृतक गणेश नेपालीका परिवारबीच पूर्वन्यायाधीशको नेतृत्वमा घटनाको छानबिन गर्न समिति गठनसहित नौ बुँदे सहमति भएको छ। सरकारको प्रतिनिधिको रूपमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र पीडित परिवारकोतर्फबाट मृतकको श्रीमती, आमा, बाबुसहित १३ जनाबीच भएको सहमतिमा घटनामा संलग्न देखिएका महानगरका प्रहरीलाई तत्काल निलम्बन गर्नेसमेत उल्लेख छ।
भएका सहमतिहरूमा सात दिन भित्र प्रतिवेदन दिने गरी तत्काल पूर्वन्यायधीशको नेतृत्वमा छानबिन समिति गठन गर्ने, शहीद घोषणाको सम्बन्धमा प्रचलित कानुन र विगतको अभ्यासको आधारमा छानबिन समितिको प्रतिवेदनको आधारमा निर्णय गर्ने, नेपालीसँग विवादमा संलग्न महानगर प्रहरीको हकमा तत्काल निलम्बन गर्ने र आवश्यक कार्वाही सोही समितिको सिफारिसको आधारमा गर्ने उल्लेख छ।
यसैगरि मृतक नेपालीको श्रीमतीको योग्यता र क्षमताको आधारमा काठमाडौं महानगरपालिकाले रोजगारी दिने र छोरीको उच्च शिक्षासम्मको व्यवस्था समेत महानगरले गर्ने उल्लेख छ। पीडित परिवारलाई राहत रकम समेत महानगरले उपलब्ध गराउने उल्लेख छ।
सहमतिका अन्य बुँदामा शव बुझ्ने, काज किरियाको व्यवस्था महानगरले गर्ने, यातायात र किरिया खर्च महानगरले बेहोर्ने पीडित परिवारको स्वास्थ्य बीमा सम्बन्धी व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने उल्लेख छ। बाइक पार्किङको विषयमा महानगर प्रहरीसँग भएको विवादपछि नेपालीले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका थिए। उनको वीर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको थियो।
असार २८, २०८३ आइतबार १८:३०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।