पत्रकारलाई निषेध गरेर होल्डिङ सेन्टरमा पुगेका मन्त्रीहरुले दिए लालपूर्जाको आश्वासन, सुकुमबासीले तत्काल मागे कपडा र चप्पल
काठमाडौं : व्यवस्थित बसोबासको बहानामा सुकुमबासी बस्ती भत्काएर होल्डिङ सेन्टरमा राखेकाहरूमाथि सरकारले अमानवीय व्यवहार गर्दै जवर्जस्ती निष्कासन गर्न थालेपछि भूमिहीनहरू आन्दोलित भएसँगै उनीहरूलाई फकाउन मन्त्रीहरू नै होल्डिङ सेन्टर धाउन थालेका छन्।
बनेपा, खारिपाटी, नगरकोटदेखि कीर्तिपुरसम्मका होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुमबासीहरुलाई राहतमा २५ हजार लिएर होल्डिङ सेन्टर खाली गराउन सरकारी निकायले खाना र पानी समेत बन्द गर्दै अमानवीय व्यवहार गर्यो। बनेपा, नगरकोट र खरिपाटीका सुकुमबासीहरुलाई भोकै राखेर होल्डिङ सेन्टर छाड्न बाध्य बनाइए पनि कीर्तिपुरमा रहेकाहरू पनि उचित वैकल्पिक व्यवस्थापन नभई छाड्न मानेनन्।
त्यही बिचमा गणेश नेपालीले आत्मदाहको प्रयास गर्दा मृत्यु भएसँगै मानवीय कोणबाट सरकारको आलोचना सुरु भयो। शुक्रवार बेलुका आएको बाढी कीर्तिपुरको होल्डिङ सेन्टरमा पस्दा सुकुमबासीको बिजोग भएपछि मानवीय कोणबाट सरकारको तीव्र आलोचना सुरु भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले माहोल आफ्नो पक्षमा पार्न र आन्दोलित सुकुमबासीहरुलाई शान्त बनाउन मन्त्रीहरूको डफ्फा नै खटाएको छ।
शनिवार कीर्तिपुरको बागमती किनारमा रहेको होल्डिङ सेन्टरमा रहेकाहरूलाई सुरक्षाकर्मीको सहयोगमा खरिपाटीमा सारिएको थियो। केही सुकुमबासी भने उचित व्यवस्थापन नगरी नहट्ने भन्दै कीर्तिपुरमै बसेका छन्।
शनिवार शाह निकट मन्त्रीहरूको छलफलमा आइतबार सुकुमबासीहरुलाई भेटेर फकाउने रणनीति बनेको थियो। त्यही रणनीति अनुसार आइतबार गृहमन्त्री सुधन गुरुङ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, शिक्षामन्त्री सस्मित पोखरेल लगायतकाहरु खरिपाटीको होल्डिङ सेन्टरमा पुगेर सुकुमबासीहरुलाई जग्गाहीन भएकाहरूलाई सरकारले लालपुर्जा दिने तयारी गरिरहेको भन्दै आश्वस्त बनाउने प्रयास गरेका थिए।
मन्त्री रावलले सरकारले सुरक्षित रूपमा राख्नका लागि बस्तीबाट हटाएको दाबी गरिन्। असार तेस्रो हप्ताबाट लालपुर्जा वितरणको काम सुरु भइसकेको भन्दै प्रक्रियाका अनुसार होल्डिङ सेन्टरमा भएकाहरूको तत्काल समस्या समाधान गर्न नसकेको दाबी गरेकी थिइन्। उनले प्रक्रिया पुरा नगरी लालपुर्जा दिएर मुद्दा लागेर लालपुर्जा खोसिन्छ भन्ने दाबी गरेकी थिइन्।
उनले सुकुमबासी समस्याप्रति संवेदनशील रहेको दाबी गरे पनि कहिलेसम्ममा लालपुर्जा पाउन सक्छन् भन्ने भन्न सकिनन्। उनीसहितका मन्त्रीहरूले पनि त्यही दाबी दोहोर्याएका थिए। होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरुले बाढीले सबै डुबाउँदा अहिले आफूहरुसँग लगाउने कपडा र चप्पल समेत नभएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेका थिए। त्यसको उत्तरमा सामाजिक सुरक्षा मन्त्री सीता वादीले कपडा र चप्पल लगायतका सामग्री उपलब्ध गराउने प्रयास गर्ने बताइन्।
खरिपाटीमा यस अगाडि राखिएका भूमिहीन सुकुमबासीहरुलाई सरकारले पानी र खाना समेत बन्द गराएर छाड्न बाध्य बनाए पनि अन्तमा कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेकाहरूलाई पनि त्यहीँ लगेपछि उनीहरूको अवस्था बुझ्न आइतबार पुगेका सञ्चारकर्मीहरूलाई भने खरिपाटीभित्र छिर्न दिइएन।
उनीहरूलाई माथिको अनुमति लिएर आउनु भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका थिए। शनिवार कीर्तिपुरको होल्डिङ सेन्टरको अवस्थाबारे बुझ्न पुगेका सञ्चारकर्मी र जेनजी अगुवाहरूलाई प्रधानमन्त्री शाहको टिमकै सदस्यहरूले अवरोध पूर्याएका थिए। आइतबार खरिपाटीमा समूहका सदस्य त देखिएनन्। प्रहरीले नै समूहको सदस्यको भूमिका निर्वाह गरेका थिए।
असार २८, २०८३ आइतबार १८:०४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।