प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो ३ जना लागुऔषध कारोबारी
काठमाडौं : रूपन्देहीको मायादेवी गाउँपालिका–६, गुरबनियाबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र करिब २०० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति लागूऔषध खरिद-बिक्री भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको संयुक्त टोलीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेको थियो। पक्राउ पर्नेमध्येका एक जनाले प्रहरीमाथि पेस्तोल ताकेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो।
प्रहरीको गोली लागेर भारतीय नागरिक ईकवाल खान घाइते भएका थिए। उनलाई तत्कालै भीम अस्पताल भैरहवा पुर्याइएको र उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असार २८, २०८३ आइतबार १३:०४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।