बाढीबाट जोगाउन सारिएका सुकुमबासीको होल्डिङ सेन्टरमै बाढी पस्यो (तस्बिरहरू)
काठमाडौं : बागमती नदी किनारको बस्तीबाट सुरक्षित स्थानान्तरणको नाममा सुकुमबासीहरू सारिएको कीर्तिपुरस्थित राधास्वामीमा बनाएको होल्डिङ सेन्टरमा शुक्रबार राति बाढी पस्यो।
लगातारको वर्षापछि बागमती नदीको सतह बढ्दा यहाँ निर्माण गरिएका नीलो रङका अस्थायी टेन्टहरू डुबानमा परेपछि त्यहाँको दृश्य बगर जस्तो देखिन्थ्यो। सुरक्षित भनिएको आश्रयस्थल नै जलमग्न भएपछि त्यहाँ बसिरहेका सुकुमबासी परिवारहरू फेरि रातारात बिचल्लीमा परेका थिए।

शनिबार उकेराकर्मी राधास्वामीमा बनाएको होल्डिङ सेन्टरमा पुग्दा बाढीको पानीसँगै आएको बाक्लो लेदो र हिलो टेन्टभित्रै थुप्रिएको थियो। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १५४ जना सुकुमबासीका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र बालबालिकाका शैक्षिक सामग्रीहरू लेदोले भारी भएका थिए भने कतिपय सामानहरू बाढीले बगाएको थियो।

डुबानका कारण सबैभन्दा बढी बालबालिका, महिला र वृद्धवृद्धाहरू प्रभावित भएका थिए। तस्बिरमा एक बालिका हिलोका बीचमा उभिएर आफ्ना सामान र लुगाफाटो पखाल्ने प्रयास गरिरहेकी देखिन्थिन्। सुरक्षित वासस्थान र खानाको व्यवस्थाको अभावले उनीहरूको दैनिकी अत्यन्त कष्टकर बनेको थियो।

बाढी प्रभावितहरूको उद्धारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली केहीलाई उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको थियो भने खाद्यान्न र लत्ताकपडा डुबाउँदा समेत सरकारले फेरि सडकमा अलपत्र पार्ने डरले अन्य सुकुमबासीहरू सुरक्षित स्थानमा जान मानिरहेका थिएनन्।

आश्रयस्थल हिलोले भरिएपछि प्रभावितहरूले आफ्ना भिजेका डस्ना, कम्बल र लत्ताकपडा सडकको रेलिङमा सुकाइरहेका थिए। बस्ने ठाउँ नभएपछि कतिपय परिवार सडक किनारमै आफ्ना सामान रुँगेर बस्न बाध्य भएका थिए। बागमतीमा आउने बाढीबाट सुरक्षित स्थानमा पुर्याइएको भनिएको होल्डिङ सेन्टर नै डुबानपछि सुकुमबासीहरु पुनः दोहोरो संकटमा परेका छन्।







असार २८, २०८३ आइतबार ०९:४४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।