सुकुमबासीको अवस्था बुझ्न पुगेका जेन्जी अभियन्ताहरूमाथि प्रहरीको धरपकड

सुकुमबासीको अवस्था बुझ्न पुगेका जेन्जी अभियन्ताहरूमाथि प्रहरीको धरपकड

काठमाडौं : कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित सुकुमबासीको अवस्था बुझ्न पुगेका माजिद अन्सारीसहितका जेनजी अभियन्ताहरूलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।

कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरबाट नियन्त्रणमा उनीहरूलाई लिइएको हो। बाढी प्रभावितहरूको व्यवस्थापन र स्थानान्तरण भइरहेका बेला होहल्ला गरी अवरोध सिर्जना गरेकाले उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको दाबी छ।

गए राति बागमती नदीमा आएको बाढी होल्डिङ सेन्टरमा पसेपछि त्यहाँ आश्रित सुकुमबासीहरू समस्यामा परेका थिए। सोही अवस्थाको अनुगमन र सहयोगका लागि भनेर अभियन्ताहरू त्यहाँ पुगेका जेनजी अभियानीहरूलाई प्रहरीले धरपकड गर्यो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ र प्रत्यक्षदर्शीका अनुसार उनीहरूलाई एक हुल प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो। सोही क्रममा अन्सारीको अनुहारमा चोट लागेको बताइएको छ। सार्वजनिक तस्बिरमा उनको अनुहारमा चोट लागेको देखिन्छ।

सरकारले नदी किनारका बस्तीबाट हटाएका सुकुमबासीहरूलाई होल्डिङ सेन्टरमा राख्दै आएकोमा डुबानका कारण उनीहरू पुनः विस्थापित हुनुपरेको छ। नागरिकको शान्तिपूर्ण निगरानी र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गरेको भन्दै उक्त पक्राउको विरोध भइरहेको छ।

असार २७, २०८३ शनिबार २१:१९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।