सडकमा बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत!
काठमाडौं : ट्राफिक नियम उल्लङ्घनमा जरिवानाको दर भारी वृद्धि गर्नेगरि सरकारले तयार पारेको नयाँ कानुनको मस्यौदालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ।
पूर्वाधार विकास मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको मस्यौदामा नियम मिच्ने पैदल यात्रुसहित सवारी चालकलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।
बलियो पूर्वाधार बिना नै ट्राफिक नियम मिच्नेविरुद्ध कठोर जरिवानाको व्यवस्था गर्नेगरि मस्यौदा तयार गरिएको भनेर अहिले त्यसले ठूलो बहस छेडेको छ। ट्राफिक नियममा कठोर बन्ने नीति लिने सरकारी तयारी चलिरहँदा काठमाडौं उपत्यकाका सडकमा भने चरम लापरबाही र अनुशासनहीनताका दृश्य देखिन्छन्।
आकाशे पुल, जेब्रा क्रसिङ र ट्राफिक लाइट जस्ता उपलब्ध पूर्वाधारको समेत उचित प्रयोग नहुँदा सडकमा दुर्घटनाको जोखिम कायमै छ। ट्राफिक नियम उल्लङ्घनका केही प्रतिनिधि दृश्यहरूलाई उकेराकर्मीले क्यामरामा कैद गर्ने प्रयास गरेका छन्।
दृश्य एक: बालकुमारी-कोटेश्वर सडक खण्डमा एक जना मोटरसाइकल चालक गुडिरहेकै अवस्थामा एक हातले बाइकको ह्यान्डल र अर्को हातले मोबाइल चलाउँदै निस्फिक्री कुदिरहेका थिए। पछाडिबाट आइरहेको सार्वजनिक बसले हर्न बजाएर ओभरटेक गर्ने सङ्केत दिँदा पनि उनले कुनै वास्ता गरेनन्।

त्यस्तै, सोही सडक खण्डको बालकुमारी पुलको मुखैमा पैदल यात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ छ, तर ट्राफिक लाइट नहुँदा छ लेनको चौडा सडकमा पैदल यात्रु सुरक्षित छैनन्। हुत्तिएर आउने दुई पाङ्ग्रे, पैदल यात्रु देख्दा पनि गति कम नगर्ने निजी सवारी र जेब्रा क्रसिङमै जबरजस्ती यात्रु चढाउने र ओराल्ने सार्वजनिक यातायातका कारण पैदल यात्रुहरू सधैँ जोखिममा देखिन्छन्।
दृश्य दुई : बल्खु चोकबाट कलङ्कीतर्फ अहिले आकाशे पुल बन्दैछ। फराकिलो सडकमा दुर्घटना न्यूनीकरण गर्न मुख्य र शाखा सडक छुट्टिने गरी बीचमा केही इन्च अग्लो पक्की डिभाइडर बनाइएको छ। चोक भएकाले त्यहाँ भाडाका सवारीसाधनको सधैँ भिड रहन्छ।

लगभग २०० मिटर अगाडि बढेपछि दायाँतर्फ मोडिएर मुख्य सडकमा छिर्न वा सानेपातर्फ जान मिल्ने खुला ठाउँ छ। तर, दुई पाङ्ग्रे र ट्याक्सीहरूले 'सर्टकट' लिने नाममा बन्दै गरेको आकाशे पुलमुनिबाटै जबरजस्ती सडक वारपार गरेर ट्राफिक नियमको उल्लंघन गरिरहेको दृश्य त्यहाँ सामान्य जस्तै बनेको छ।

त्यस्तै, कलङ्कीतर्फको खसीबजार सडक खण्डमा तोकिएको मापदण्डभन्दा तीव्र गतिमा सवारी साधन कुदाउने र चोकमा रहेको जेब्रा क्रसिङ छोडेर अलि अगाडि गुडिरहेका सवारी साधनलाई छल्दै पैदल यात्रुहरू बाटो काटिरहेको देखिन्थ्यो।
दृश्य तीन: सधैँ व्यस्त रहने भोटाहिटी चोकबाट रत्नपार्कतर्फ जान आकाशे पुलको व्यवस्था छ। अधिकांशले पुलको प्रयोग गरे पनि पुल चढ्न नसक्ने वृद्धवृद्धा मात्र नभई तन्दुरुस्त युवाहरूसमेत गुडिरहेका सवारी साधनकै बीचबाट ज्यानलाई जोखिममा पारेर पुलमुनिबाटै सडक वारपार गरिरहेका देखिन्थे।

दृश्य चार: भद्रकाली-सिंहदरबार सडक खण्डमा लेन अनुशासन पालना नगर्ने सवारी साधनहरू नियमित ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। विशेष गरी कार्यालय समयमा बढी सवारी चाप रहने यहाँ रातो बत्ती बल्दा केही मिनेट सवारी साधन रोकिन्छन्। तर, छिटो अघि बढ्ने उद्देश्यले लेन मिच्दा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू कारबाहीमा पर्ने गरेका छन्।

दृश्य पाँच: माइतीघर-बानेश्वर सडक खण्डमा पर्ने बबरमहल चोकमा सडक वारपार गर्न जेब्रा क्रसिङ र ट्राफिक लाइट दुवैको व्यवस्था छ। चोक भएकाले मूल सडकको सवारी रोकिँदा आर्ट काउन्सिलतर्फबाट सडक विभाग हुँदै सिंहदरबार सडक निस्कन वा बानेश्वरतर्फ मोडिन मिल्छ।

रातो बत्ती बलेर सवारी साधन रोकिँदा पैदल यात्रुले सङ्केत बत्ती हेरेर सहजै बाटो काट्न सक्छन्। तर, रोचक दृश्य के देखियो भने- सहज व्यवस्था हुँदाहुँदै पनि मानिसहरू गुडिरहेको सवारीको वास्ता नगरी जेब्रा क्रसिङ बाहिरबाट दौडिएर बाटो काटिरहेका देखिन्थे, जबकि सडक पार गर्न उभिएको एउटा सडक कुकुर भने जेब्रा क्रसिङबाटै बाटो काटिरहेको देखियो।
दृश्य छ: मिनभवन चोकमा चौडा सडक वारपार गर्न ट्राफिक लाइट र जेब्रा क्रसिङको राम्रो व्यवस्था छ, जहाँ बिहानदेखि साँझसम्म मानिसहरूको ठूलो चाप हुन्छ। सडक सङ्केत बत्ती हेरेर तोकिएको समयमा सुरक्षित रूपमा बाटो काट्न पाइने भए पनि पैदल यात्रुहरू रातो बत्ती बलेकै अवस्थामा कुदिरहेका सवारी साधनलाई छल्दै हतार-हतार बाटो काट्छन्। यसले कुनै पनि बेला गम्भीर सडक दुर्घटना निम्त्याउन सक्छ।

दृश्य सात: सडकमा देखिने बेथितिमध्ये अर्को रोचक दृश्य कोटेश्वरको आकाशे पुलमुनि देखियो। एक जना मानिस आकाशे पुल प्रयोग गर्नुको सट्टा हतारोमा पुल मुनिबाटै बाटो काट्दै थिए। त्यति मात्र होइन, चौडा सडकमा जथाभाबी बाटो काट्दा दुर्घटना नहोस् भनेर सडकको बीचमा लगाइएको फलामे बारको सानो खाली भागबाट घुस्रिएर उनी सडकको अर्कोतर्फ लागे।

पुल चढ्ने अल्छीपनका कारण ती यात्रुले सम्भावित दुर्घटना र आफ्नो ज्यानको प्रवाह नगरी बारबाटै छिरे। उपत्यकाका विभिन्न सडक खण्डमा सडकको बीचमा राखिएको डिभाइडर नाघ्ने र टाँगिएको डोरी नाघेर बाटो काट्ने दृश्यहरू अहिले निकै आमजस्तै बनेको देखिन्छ।
निष्कर्ष र सरकारी दायित्व
जथाभाबी सवारी पार्किङ, तोकिएको बसपकेट बाहिर यात्रु चढाउने-ओराल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी कुदाउने, मापसे गरेर सवारी चलाउने र लेन अनुशासन पालना नगर्ने जस्ता ट्राफिक नियमको उल्लङ्घन दृश्य सामान्य लाग्न सक्छन्। तर, यस्ता लापरबाहीले कानुनी कारबाही र जरिवाना मात्र आकर्षित गर्दैनन्, गम्भीर सडक दुर्घटना निम्त्याइरहेका हुन्छन्। यहाँ नागरिक स्वयं सचेत हुन आवश्यक देखिन्छ।

सडक सुरक्षाका लागि नागरिक अनुशासन जत्तिकै सरकारी निकायको व्यवस्थापकीय भूमिका अझ निर्णायक हुन्छ। बिग्रिएका सडकको मर्मत, ट्राफिक बत्ती र प्रविधिको चुस्त व्यवस्थापन, पार्किङ व्यवस्थापन, सवारी साधनको प्रदूषण जाँच, चालक र यात्रुको लागि सचेतना कार्यक्रम र ट्राफिक प्रहरीलाई आधुनिक उपकरणले सुसज्जित बनाउने दायित्व सरकारको जिम्मेवारी भित्र पर्दछ।
सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको सचेतना अभियानहरूको प्रभावकारिता सडकमा अनुशासन कायम हुनेभन्दा राजस्व संकलनको हिस्सा बढाउनेमा सहयोग पुर्याएको गुनासो बढ्दो छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो दुई हप्तामा मात्रै ट्राफिक कारबाहीबाट डेढ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
२०८३ वैशाखदेखि मासिक औसत एक करोड रुपैयाँ जरिवाना असुली भइरहेको विवरणले उपत्यका ट्राफिक प्रहरीले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहँदा सचेतना अभियानको प्रभावकारितामाथि प्रश्न खडा गरिदिएको छ।
असार २८, २०८३ आइतबार १०:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।