‘सामूहिक नेतृत्व समाप्त भयो, पार्टीमा स्वेच्छाचारिता र गणेशप्रवृत्ति मौलायो’
काठमाडौं : एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को प्रतिवेदनले पार्टीको नेतृत्वमा स्वेच्छाचारिता र अधिकारको केन्द्रीकरण हुँदा सांगठनिक जीवन प्रभावित भएको निष्कर्ष निकालेको छ।
निर्वाचनमा व्यहोर्नुपरेको परिणाम र पार्टीको आन्तरिक अवस्थाबारे बुझाइएको प्रतिवेदनमा नेतृत्वको कार्यशैली र प्रवृत्तिगत कमजोरीलाई प्रमुख समस्याको रूपमा औँल्याइएको हो।
प्रतिवेदनले सामूहिक नेतृत्व प्रणाली समाप्त भई मुख्य नेतृत्वमा अधिकार केन्द्रित हुँदा ‘म नभए पार्टी कसरी चल्छ’ भन्ने मानसिकता विकास भएको औँल्याएको छ। जसले नेतृत्वलाई स्थापित गर्ने नाममा पार्टीभित्र ‘गणेशप्रवृत्ति’ (नेतृत्वको वरिपरि घुमेर अवसर खोज्ने) मौलाएको र सांगठनिक शृङ्खला एवं नेतृत्व विकासको प्रक्रिया अवरुद्ध भएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, "सामूहिक नेतृत्व प्रणाली समाप्त भई मुख्य नेतृत्वमा अधिकारको केन्द्रीकरण हुन पुगेको छ। यसबाट नेतृत्वले जे गर्दा पनि हुन्छ भन्ने स्वेच्छाचारी प्रवृत्ति बढेको छ। नेतृत्वलाई स्थापित गर्ने नाममा गणेशप्रवृत्ति मौलाएको अधिकांश कार्यकर्ताको बुझाइ रहेको देखिन्छ।"
नेतृत्व तहमा कमीकमजोरीको चर्चा सुन्न नचाहने र केवल ‘आत्मप्रशंसा’ मन पराउने प्रवृत्ति बढ्दा कार्यकर्तामा चाकडी गर्ने र ‘हो मा हो’ मिलाउने संस्कृतिलाई प्रश्रय दिएको तथा पार्टीभित्र हुनुपर्ने ‘कमरेडली’ भावनालाई कमजोर बनाएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, "नेता र कार्यकर्तामा आफ्नो कार्यक्षेत्रमा केन्द्रित हुनुभन्दा प्रमुख नेतृत्वको वरिपरि घुम्ने प्रवृत्ति बढेको छ। कमिटीहरूको संस्थागत कुरामा र कुरा लगाउनेको कुरा सुनेर धारणा बनाउनाले पार्टी र नेतृत्व दुवैको प्रभाव र प्रतिष्ठा खस्किँदै गएको छ।"
निर्वाचन परिणामको सन्दर्भमा कार्यदलले नेतृत्वको विश्लेषण ‘मनोगत र सतही’ भएको दाबी गरेको छ। मतदान भइसक्दा समेत जनमतको सही आकलन गर्न नसक्नु र जनताको वास्तविक मनोभावना बुझ्न चुक्नुलाई नेतृत्वको अर्को कमजोरीका रूपमा लिइएको छ। प्रतिवेदनमा भनिएको छ, "जनताको मनोभावना बुझ्ने कुरामा सिंगो पार्टीपङ्क्ति चुकेको देखियो। यसबाट नेतृत्व र सिंगो पार्टीपङ्क्ति मनोगतवादको प्रभावमा परेको देखियो।"
यस्तै, सूचना र प्रविधिको विकासले मानव समाज र राजनीतिक संघर्षमा पारेको प्रभावलाई नेतृत्वले ठम्याउन नसकेको प्रतिवेदनमा उल्लेख छ। सामाजिक सञ्जालले राष्ट्रियता, संस्कृति र विचारधारात्मक संघर्षमा ल्याएको बदलावलाई सम्बोधन गर्न नेतृत्व असफल रहेको र नयाँ समस्याहरूको समाधान पुरानै तरिकाबाट खोज्न खोज्दा चुनौती थपिएको कार्यदलको ठम्याइ छ।
भदौ ९, २०८३ मंगलबार २०:०१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।