बुद्धनगरमा पेट्रोल छर्की आफ्नै शरीरमा आगो लगाएका व्यवसायी राउतको मृत्यु
काठमाडौं : काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
वीर अस्पतालको आइसियुमा उपचाररत ४५ वर्षीय राउतको ४:२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरले जानकारी दिएका छन्।
काठमाडौं महानगरपालिका- १० बुद्धनगरस्थित आफ्नै घरमा शनिबार बिहान शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई प्रहरीले घटना लगत्तै उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो।
उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले आफूलाई जानकारी दिएको कुँवरले बताए। चिकित्सकले दिएको जानकारीअनुसार राउतको माथिल्लो शरीर बढी जलेर श्वास नलीमा क्षति पुगेको उनले बताए।
(आत्मदाह वा आत्महत्या कुनै पनि समस्याको समाधान होइन। यदि तपाईं वा तपाईंको वरपर कोही मानसिक तनावमा हुनुहुन्छ भने मद्दत माग्न नहिच्किचाउनुहोस्। आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ।)
असार २७, २०८३ शनिबार १८:०४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।