सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा कडाइ, एसएसपीको नेतृत्वमा विशेष टोली परिचालन
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष अनुगमन टोली परिचालन गरेको छ।
सशस्त्र प्रहरीका निमित्त संगठन प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालले असार २६ गते देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिँदै उक्त टोलीलाई फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको जानकारी दिए।
भ्रष्टाचार र आर्थिक अनियमिततामा ‘शून्य सहनशीलता’ अपनाइनेछ। ‘पुरस्कार र दण्ड’को नीति कडाइका साथ लागू गरिने र कमजोरी भेटिए जुनसुकै तहका कर्मचारीलाई कारबाही गरिनेछ।
भन्सार छली र अवैध तस्करी हुने सम्भावित नाकाहरूमा बोर्डर आउट पोष्ट (बीओपी) र फरवार्ड पोष्टहरूले २४सै घण्टा निगरानी राख्नुपर्नेछ।
जनतासँगको व्यवहारमा नम्रता र कार्यसम्पादनमा पूर्ण व्यावसायिकता देखाउन निर्देशन दिइएको छ। अन्तर्राष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड’ फोर्सका रूपमा खटिनुपर्नेमा जोड दिइएको छ।
सीमावर्ती जिल्लामा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रै सरुवा गरिने र व्यावसायिक आचरण विपरीत काम गर्नेहरूलाई ‘करेक्सन ट्रेनिङ’ दिइनेछ।
मनसुन सुरु भइसकेकाले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन सबै युनिटलाई निर्देशन दिइएको छ।
ब्रिफिङमा सशस्त्र प्रहरीका उच्च अधिकृतहरूसहित देशभरका बाहिनीपति, गणपति र बीओपी कमाण्डरहरूको सहभागिता रहेको थियो।
असार २७, २०८३ शनिबार ११:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।