यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं : उच्च शिक्षाका लागि संयुक्त अरब इमिरेट्स (युएई) का विभिन्न कलेजमा अध्ययन गर्न पठाई नेपाली विद्यार्थीहरूलाई ठगी गरेको अभियोगमा प्रहरीले नौ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गरी बसेका उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डिल्लीबजारस्थित 'इड्युपोर्ट प्रा.लि.' का संचालकहरू रुपक कोईराला, राजेश भण्डारी र सन्तोष खतिवडा रहेका छन्। त्यसैगरी, पुतलीसडकस्थित 'वेष्टफोर्ड एजुकेशन प्रा.लि.' की संचालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) तथा बानेश्वरस्थित 'प्रोप एभिएसन प्रा.लि.' का संचालकहरू सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डे पनि पक्राउ परेका छन्। साथै, कालिमाटीस्थित 'एस्पायर ग्लोवल प्रा.लि.' का संचालक बिशाल चापागाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको निकाय एमओएचईएसआर/कमिसन फर एकेडेमिक एक्रेडिटेसन (सीएए) बाट स्वीकृति नलिएका कलेजहरूमा विद्यार्थी पठाउने गरेको पाइएको छ। ती अवैध कलेजहरूमा अध्ययन गरेपछि फ्रान्स तथा अस्ट्रेलिया लगायतका देशका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा ‘क्रेडिट ट्रान्सफर’ समेत हुने भन्दै उनीहरूले विद्यार्थीलाई झुक्याएका थिए।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान अघि बढाइएको  प्रहरीले जनाएको छ।

असार २७, २०८३ शनिबार ११:५४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।