बुद्धनगरमा छोरासँगको विवादपछि बाबुले सल्काए आफ्नै शरीर

बुद्धनगरमा छोरासँगको विवादपछि बाबुले सल्काए आफ्नै शरीर

काठमाडौं : राजधानीको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार राउतको आफ्नै छोरासँग घरायसी विषयमा विवाद भएको थियो।

विवाद उत्कर्षमा पुगेपछि आवेगमा आएका उनले भान्सामा गएर शरीरमा प्रज्वलनशील पदार्थ छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आगोबाट राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको छ। उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।

अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ र सघन उपचार कक्षमा उपचार भइरहेको छ। प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

पछिल्लो केही दिनयता देशका विभिन्न स्थानमा आत्मदाह र आत्मदाह प्रयासका घटनाहरू डरलाग्दो गरी बढिरहेका छन्।

गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमै मृत्यु भएको थियो।

शुक्रबार मात्रै सर्लाहीमा विवेक मण्डल नाम गरेका एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

(आत्मदाह वा आत्महत्या कुनै पनि समस्याको समाधान होइन। यदि तपाईं वा तपाईंको वरपर कोही मानसिक तनावमा हुनुहुन्छ भने मद्दत माग्न नहिच्किचाउनुहोस्। आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ।)

असार २७, २०८३ शनिबार १०:३७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।