तावाबाट उम्केर भुङ्ग्रोमा हेलिएका सुकुमबासी

तावाबाट उम्केर भुङ्ग्रोमा हेलिएका सुकुमबासी

काठमाडौं : थापाथली, गैरीगाउँ लगायतका बागमती नदी किनार सुकुमबासीका लागि असुरक्षित भयो भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले उनीहरूको घर भत्काएको दुई महिनाभन्दा बढी भइसक्यो।

वर्षायाममा नदीमा आउने बाढीबाट जोगाउने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने दाबीसहित सरकारले उनीहरूलाई कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संगमा होल्डिङ सेन्टर बनाएर राख्यो।

तर, नदी किनारकै जोखिमबाट बचाइएको भनिएका ती परिवारलाई राखिएको होल्डिङ सेन्टर नै डुबानमा पर्यो। शुक्रबार राति परेको अविरल वर्षाले सहायक नदीहरू बढ्दा बागमतीको सतह बढ्यो अनि होल्डिङ सेन्टरभित्र पानी पस्यो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, डुबानको खबर प्राप्त हुनासाथ मध्यरात १:३८ बजे विपद् व्यवस्थापन र उद्धारका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।

उद्धारका लागि दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन सहित ३० जना र नेपाल प्रहरीको ३० जनाको संयुक्त टोली कार्यक्षेत्रमा खटिएको थियो।

सेन्टरमा रहेका कुल १५४ जनामध्ये संयुक्त टोलीले तत्काल ५४ जनालाई सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा स्थानान्तरण गरेको छ। बाँकीमध्ये ६ जना होस्टलमा बसेका छन्।

बाढीको प्रत्यक्ष जोखिम हुँदाहुँदै पनि सेन्टरमा रहेका ९४ जनाभन्दा बढी सुकुमबासीहरूले उक्त स्थान छोड्न अस्वीकार गरे र सोही भवनको पानी नजमेको स्थानमा बसिरहे। काठमाडौं उपत्यका तथा बनेपाका अन्य होल्डिङ सेन्टरहरूको अवस्था बुझिसकेका उनीहरूले होल्डिङ सेन्टर छोडेनन्।

उनीहरूले काठमाडौं भित्रका र बनेपामा बनाइएका होल्डिङ सेन्टरहरूबाट सुकुमबासीहरूलाई केही समय राखेर धमाधम निकालेको नजिकबाट देखिसकेका छन्।

उकेरा न्युजसँगको कुराकानीमा एक पीडितले आक्रोश र पीडा मिश्रित स्वरमा भने, ‘यहाँबाट एकपटक निस्किएपछि सरकारले हामीलाई फेरि सडकमा अलपत्र बनाउँछ। सरकारले हाम्रो स्थायी व्यवस्थापन नगरेसम्म हामी यहाँबाट हल्लिनेवाला छैनौँ।’

मध्यरातको बाढीले सुकुमबासीहरूका खाद्यान्न, लुगाकपडा र बन्दोबस्तीका सामानहरू डुबाएको छ। प्राधिकरणका अनुसार, शनिबार बिहानैदेखि सम्बन्धित विषयगत क्षेत्रहरू सक्रिय भई डुबानमा परेका र स्थानान्तरण गरिएका नागरिकहरूका लागि खाना, पिउने पानी र अन्य आवश्यक खाद्यान्न तथा राहत सामाग्रीहरूको व्यवस्थापन र वितरण कार्य भइरहेको छ।

सरकारले सुकुमबासीहरूलाई सुरक्षित राख्ने दाबी गरे पनि उनीहरूको अवस्था अहिले ‘तावाबाट निकालेर भुङ्ग्रोमा राखेको जस्तै’ भएको छ। थापाथलीमा रहँदा कम्तीमा उनीहरू आफ्नै टहरामा सुरक्षित थिए, तर अहिले सरकारले ल्याएर राखेको ठाउँ नै जलमग्न हुँदा उनीहरूको बिचल्ली भएको छ।

दीर्घकालीन आवासको ग्यारेन्टी नगरी केवल पन्छाउने नियतले नदी किनारकै अर्को जोखिमपूर्ण ठाउँमा ल्याएर राख्नुले सरकारको असंवेदनशीलतालाई समेत पुष्टि गर्छ। दुई महिना बितिसक्दा पनि बालबालिकाको शिक्षा र स्थायी बसोबासको विषयमा कुनै ठोस ठोस कदम चालिएको छैन।

कीर्तिपुर सुन्दरीघाटमा रहेका सुकुमबासीहरू यतिबेला एकातिर बागमतीको डुबान र अर्कोतिर भविष्यको अनिश्चितताको चेपुवामा परेका छन्। सुरक्षा निकायले उद्धार गर्न खोज्दा समेत राज्यले फेरि लखेट्ने र अलपत्र पार्ने डरले उनीहरू डुबानकै बीचमा बस्न बाध्य छन्।

असार २७, २०८३ शनिबार १०:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।