कीर्तिपुरको सुकुमबासी होल्डिङ सेन्टर डुबानमा
काठमाडौं : काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुमबासीहरूलाई राखिएको कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटको ‘राधास्वामी होल्डिङ सेन्टर’ बागमती नदीको बाढीले डुबानमा परेको छ।
लगातारको वर्षापछि नदीको बहाव बढ्दा शुक्रबार रातिदेखि नै उक्त क्षेत्र जलमग्न भएको हो।
बागमतीको पानी होल्डिङ सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासीहरूको रातभर बिचल्ली भएको छ। पीडितहरूले सरकारले आफूहरूलाई एउटा असुरक्षित ठाउँबाट उठाएर अर्को झन् जोखिमपूर्ण ठाउँमा ल्याएर राखेको भन्दै आक्रोश पोखेका छन्।
‘खोला किनारबाट उठाएर फेरि खोलामै ल्याएर राख्यो। हाम्रो यो अवस्था तिम्रो कालो चस्माले देख्छ सरकार?’, एक पीडितले आक्रोशित हुँदै प्रश्न गरे।
घटनाको जानकारी पाएलगत्तै राति १:३८ बजेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो।
दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३० जना र नेपाल प्रहरीका ३० जना गरी कुल ६० जनाको टोलीले उद्धार कार्य जारी राखेको गृह मन्त्रालयको दाबी छ।
तर सुकुमबासीहरू भने विहान मात्र सुरक्षाकर्मी आएको बताउँछन्।
होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा सुरक्षित रूपमा सारिएको ६ जना नजिकैको होस्टलमा बस्न गएको र ९४ जनाले भने सेन्टर छोड्न नमानेको मन्त्रालयलको दाबी छ।
अहिले प्रभावित क्षेत्रमा विभिन्न क्लस्टरहरू सक्रिय भएका छन्। विस्थापित भएका र सेन्टरमै रहेकाहरूका लागि खाना, पिउने पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ।
असार २७, २०८३ शनिबार ०८:१७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।