प्रहरीले गणेशको शव वीरबाट शिक्षण अस्पताल लग्यो, शव नबुझेकाले पोस्टमार्टम भने नहुने

प्रहरीले गणेशको शव वीरबाट शिक्षण अस्पताल लग्यो, शव नबुझेकाले पोस्टमार्टम भने नहुने

काठमाडौं : सरकारका प्रतिनिधि र गणेश नेपालीका परिवारबीचको छलफल सहमतिमा नपुगे पनि प्रहरीले शव वीर अस्पतालबाट महाराजगन्ज चिकित्सा क्याम्पसको फरेन्सीक विभाग पठाएको छ। 

परिवारको सहमति नभएकाले पोस्टमार्टम भने हुन सक्दैन। प्रहरीले गणेशको शव महाराजगन्ज लगेको हो। उनको शव फ्रिजमा राखिएको छ। महानगरको नगर प्रहरीसँगको विवादका क्रममा गणेश नेपालीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका थिए। बिहीबार घाइते भएका उनको शुक्रवार उपचारकैक्रममा निधन भएको थियो।

"पोस्टमार्टम परिवारका सदस्यसँग सहमति भएपछि मात्र हुन्छ। सरकारी पक्षसँग छलफल जारी छ। शवको सम्मानका लागि पनि शव बिग्रन नदिन महाराजगन्जको फरेन्सीक विभागमा राख्न उता पठाएका छौँ" वीरका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उकेरासँग भने।

सरकारी पक्षसँग परिवारका सदस्यहरु छलफलमै रहेकाले शव महाराजगञ्ज लैजान उनीहरुको पक्षबाट कोही सहभागी भएनन्। प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रोहवरमा शव लगिएको हो। शव फ्रिजमा राखिएको छ। परिवारसँगको सहमतीपछि मात्रै पोस्टमार्टम लगायतका काम अगाडि बढ्ने छ।

असार २६, २०८३ शुक्रबार २२:२९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।