नागरिकको आत्मदाहमा संसदमा गृहमन्त्रीले खेलेको 'ब्लेम गेम'

नागरिकको आत्मदाहमा संसदमा गृहमन्त्रीले खेलेको 'ब्लेम गेम'

काठमाडौँ : त्रिपुरेश्वरमा महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको मृत्युको विषयले संसद् तातिरहेका बेला घटनाबारे जानकारी दिन आएका गृहमन्त्री सुधन गुरुङको गैर जिम्मेवार र संवेदनहीन अभिव्यक्ति दिँदै उल्टो ब्लेम गेम खेलेर गए।

सम्बोधनकोक्रममा उनले विपक्षी दलका सांसदहरूलाई यसमा राजनीतिकरण नगर्न आग्रह गरे तर आफैँले राजनीतिकरण गर्दै सरकारलाई घटनाबाट अलग राख्ने प्रयास गरे।

घटनापछि नेपालीको ज्यान जोगाउन सरकारी तहबाट भएको प्रयास, उनको मृत्युपछि घटनाबारे छानबिन गर्न डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन हुनु सरकारको सकारात्मक प्रयास हो। तर गम्भीर घटनाबारे गृहमन्त्रीले संसदमा दिएको राजनीतिक ओठे जवाफ र गैर जिम्मेवार शैलीले सरकार नागरिकको पीडाप्रति कति उदासीन र संवेदनहीन छ भन्ने देखायो।

नागरिकको जीउज्यानको रक्षा गर्ने प्रमुख जिम्मेवारी बोकेको गृह प्रशासनका प्रमुखले संसद्‌मा उभिएर मानवीय संवेदना र अभिभावकीय भूमिका भुल्दै प्रतिपक्षी सांसदहरुमाथि राजनीतिक आक्रोश पोख्न समय खर्चिए। शुक्रवारको प्रतिनिधिसभा बैठकमा घटनाको जानकारी दिने क्रममा उनले २५ वर्षे युवाको मृत्युको गम्भीर मुद्दालाई ‘कसले ह्विलमा लक लगाएको’ भन्दै यसलाई पूर्ण रूपमा राजनीतिक नाफा-घाटा र क्षेत्राधिकारको विवादमा धकेल्ने प्रयास गरे।

उनले घटनाको नैतिक जिम्मेवारी लिनुको साटो काठमाडौँ महानगरपालिका (स्थानीय सरकार) र बागमती प्रदेश सरकार विपक्षी दलहरूको नेतृत्वमा रहेको भन्दै आफ्नो थाप्लोबाट जिम्मेवारी पन्छाए। वालेन्द्र शाहले मेयरमा राजीनामा दिएर संसदीय राजनीतिमा गएपछि अहिले उपप्रमुख सुनिता डंगोल प्रमुख छिन्। बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा छ।

संसद्‌मा गृहमन्त्री गुरुङले नगर प्रहरीले ह्वीललक लगाएको भन्दै नेपाल प्रहरीको बचाउ मात्र गरेनन्, विपक्षी दलहरूलाई संवेदनहीन प्रतिप्रश्न समेत गरे। उनले आफू रातभर ज्यान जोगाउन खटिएको भन्दै अन्य सांसदहरूलाई को को अस्पताल गयो भनेर प्रश्न गरेका थिए।

“जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वीललक गरेको होइन, नगर प्रहरीले गरेको हो,' गृहमन्त्री गुरुङले आक्रोशित हुँदै भने, “म विपक्ष दलका माननीयहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? यो प्रदेश सरकार कसको छ?”

नेपालको संविधानले आम नागरिकको जिउज्यान र सुरक्षाको अन्तिम जिम्मेवारी संघीय सरकार र विशेष गरी गृह मन्त्रालयको हो। तर, गृहमन्त्रीले “नियम कानुन विपक्षीले बनाएको र कार्यान्वयन गर्न नसकेको” भन्दै देशकै सर्वोच्च जननिर्वाचित संस्थामा उभिएर लाचार र गैरजिम्मेवारपूर्ण शैलीमा ब्लेम गेममा उत्रिए।

बिहीबार रातभर गम्भीर अवस्थामा पुगेका नेपालीको स्वास्थ्य अवस्था भन्दा बढी अस्पतालको आइसियु बाहिरदेखि विमानस्थलसम्म गृहमन्त्री सुधन गुरुङको चहलपहलको भिडियो क्लिप सञ्जालमा छाएको थियो। यसैप्रति कटाक्ष गर्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले 'गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर' भन्दै संसदमा सुधनलाई प्रश्न गरेका थिए।

यसको जवाफमा उनले आफू क्यामरा देखेपछि भाग्ने गरेको दाबी गरे। तर उनको दाबी रातभर उनको पछि लागेर सहयोगी टिमले काम देखाउन सार्वजनिक गरेका क्लिपले नै गिज्याए समान देखिन्थ्यो।

जनप्रतिनिधिको अपमान : 'घाँटी सुक्ने गरी चिच्याएको' टिप्पणी

शुक्रवार प्रतिनिधि सभाका सत्तापक्षदेखि प्रतिपक्षसम्मका सांसदहरूले गणेशको मृत्युको घटनाबारे बोलेका थिए। प्रतिपक्षी दलका सांसदहरू सरकारप्रति आक्रोशित देखिए भने सत्ताधारी सांसदहरू नरम। त्यही संसदमा उभिएर गृहमन्त्री गुरुङले पीडित नागरिकको पक्षमा आवाज उठाउने र सरकारको ध्यानाकर्षण गराउने सांसदहरूको भूमिकामाथि नै निकृष्ट टिप्पणी गरे। 

संसद्‌मा प्रश्न उठाउने सांसदहरूलाई उनले ओठे जवाफ फर्काउँदै भने, “म यो सदनलाई सोध्न चाहन्छु, कति जना हुनुहुन्थ्यो त्यो हस्पिटलमा, जति जनाले घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ? घाँटी चिच्याएर कराएर मात्र हुँदैन सदनमा।”

नागरिकको मृत्युको संवेदनशील क्षणमा गृह प्रशासन प्रमुखबाट यस्तो गैर-सहानुभूतिपूर्ण र अपमानजनक अभिव्यक्ति आएपछि संसद्‌मा विपक्षी सांसदहरूले तीव्र विरोध जनाए। गृहमन्त्रीले जनताको आवाज र सांसदहरूको मर्यादामाथि अपमान गरेको भन्दै उक्त संवेदनहीन भनाइ संसद्‌को रेकर्डबाट तत्काल हटाउन माग गरे।

असार २६, २०८३ शुक्रबार २१:५१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।