महिला उद्यमीका लागि सिद्धार्थ बैंकले ल्यायो बिना धितो १५ लाखसम्मको कर्जा योजना

महिला उद्यमीका लागि सिद्धार्थ बैंकले ल्यायो बिना धितो १५ लाखसम्मको कर्जा योजना

काठमाडौं : महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँचमा सहज बनाउने उद्देश्यले सिद्धार्थ बैंकले सिद्धार्थ महिला समृद्धि कर्जा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार यस कर्जाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध हुने छ।

कर्जा प्रक्रियालाई वस्तुपरक बनाउन बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्याङ्कन प्रणाली विकास गरेको छ। जसले परम्परागत धितोमुखी अभ्यासको सट्टा व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको क्षमतालाई आधार मानी कर्जा विश्लेषण गर्नेछ।

धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकता दिन योजना ल्याइएको बैंकले जनाएको छ।

असार २६, २०८३ शुक्रबार १८:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।