गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय युवा गणेश नेपालीको मृत्यु भएपछि संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेका नेपालीको वीर अस्पतालको बर्न आईसीयूमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो। उनको मृत्युपछि संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा उनीहरूले सुकुमबासी व्यवस्थापनको मुद्दालाई पनि उठाएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरू माइतीघरबाट अघि बढ्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो। प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि केहीबेर स्थिति तनावपूर्ण बने पनि पछि अवस्था सामान्य भएको थियो।

आन्दोलनकारीहरूले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्। साथै, उनीहरूले सुकुमबासीहरूमाथिको अमानवीय हर्कत बन्द गर्न र अव्यवहारिक जरिवाना प्रणाली खारेज, गाँस, बास तथा कपासको ग्यारेन्टी गर्न सरकारसँग आग्रह गरेका छन्।

असार २६, २०८३ शुक्रबार १७:४३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।