बालेनले रोपेको 'अमानवीय प्रवृत्ति'ले गणेशलाई आत्मदाहमा धकेल्यो : रक्षा बम

बालेनले रोपेको 'अमानवीय प्रवृत्ति'ले गणेशलाई आत्मदाहमा धकेल्यो : रक्षा बम

काठमाडौं : जेनजी अभियन्ता रक्षा बमले वर्तमान प्रधानमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको कार्यकालको 'महानगरकालीन' कार्यशैली र प्रवृत्तिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै बमले महानगरको विगतको ‘गरिबमारा, अमानवीय र असंवेदनशील’ नीतिका कारण नै आज गणेशले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरेकी हुन्।

बमका अनुसार बालेन शाह मेयर हुँदा महानगर प्रहरीमा एउटा अमानवीय र असंवेदनशील संयन्त्र 'प्लान्ट' गरिएको थियो, जसले निरन्तर गरिब, सडक व्यापारी र सुकुमवासीको आत्मसम्मानमा प्रहार गरिरहेको छ।

"आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। बालेनको नगरप्रहरीले निरन्तर गरिब ,सडक व्यापारी र सुकुमवासीको आत्मसम्मानमा हमला गरिरह्यो, र मेयरसाबले त्यसलाई मानवीय दृष्टिकोणबाट कहिल्यै पनि हेर्न चाहेनन्," उनले लेखेकी छन्।  

चुनावका बेला सडक व्यापारीको सहज व्यवस्थापन गर्ने आश्वासन दिएका बालेन मेयर बनेपछि एकाएक बदलिएको उनको आरोप छ। चमेली अभियान र अभियन्ता 'इः' ले महानगर बाहिर १९९ घण्टा उभिएर विरोध गर्दा समेत संवाद नगरेका मेयर, आफ्नै सचिवालयबाट विद्रोह हुने स्थिति आएपछि मात्र गल्न बाध्य भएको उनले स्मरण गराएकी छन्।

तत्कालीन मेयर बालेनले स्थापना गरेको त्यही 'गरिबमारा शैली' अहिले संरचनागत रूपमा देशैभर फैलिएको आरोप समेत उनले लगाएकी छन्। कर्णालीमा काफल बेच्ने महिलाको आत्मसम्मानमा चोट पुर्याइनु र वन कर्मचारीको भेषमा गरिबको अटो भिरबाट गुल्टाइनु त्यही प्रवृत्तिको निरन्तरता भएको उनले जिकिर गरेकी छन्।

"जबसम्म समाजको ठुलो तप्काले यी कदमहरूलाई प्रोत्साहन गर्छ र अन्यायमा परेकाहरूको आँसु 'मिम मेटेरियल' बन्छ, तबसम्म यो शृङ्खला चलिरहने छ," बमले लेखेकी छन्।

गणेशको आत्मदाहपछि अब एक पक्षले मृतकमाथि नै प्रश्न उठाउने र महानगरको दोष कार्यवाहक मेयर सुनिता डंगोल नेतृत्वको टोलीतर्फ मात्र थुपार्न खोज्ने उनले आशंका समेत गरेकी छन्।

विगतमा सुधन गुरुङको प्रकरणमा चर्को आलोचना भएपछि थापाथली सुकुमवासी बस्तीमा बिना तयारी डोजर चलाइएको र उनको पुनर्बहालीका बेला दरबार हत्याकाण्डको छानबिन गर्ने जस्ता फण्डाहरू ल्याएर 'मास डाइभर्ट' गरिएको उदाहरण दिँदै उनले अब पनि सरकारले नयाँ विवादास्पद 'तुरुप' फाल्न सक्ने चेतावनी दिएकी छन्।

अभियन्ता बमले विगतका शासकहरूलाई ३५ वर्षको भारी बोकाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र बालेनका फ्यानबोईहरूले अब बालेनलाई पनि उनको ३ वर्षे महानगरकालीन कार्यकालको भारी बोकाउन तयार हुनुपर्ने धारणा राखेकी छन्।

असार २६, २०८३ शुक्रबार १७:२३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।