गणेश नेपाली घटनामा सिसिटिभीमा जे-जे देखियो
काठमाडौं : बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय युवा गणेश नेपालीको उपचारकोक्रममा शुक्रवार बिहान मृत्यु भयो। सार्वजनिक भएको सिसिटिभी फुटेज, प्रहरीको घटना दर्ता विवरणले मोटरसाइकल पार्किङको विषयमा महानगरीय प्रहरीसँग विवाद हुनु र नगर प्रहरीको मोबाइल फुट्दा विवाद बढेको देखिन्छ।
यसबारे उकेराले सार्वजनिक भएको चार वटा मोबाइल फुटेजको अध्ययन गरेको छ। ती फुटेजमा देखिए अनुसार विवादको मुख्य कारण उनले मोटरसाइकल पार्किङ गरेको ठाउँमा महानगर प्रहरीले ह्विल लक लगाउनु, गणेश त्यहाँबाट भाग्न खोज्दा नगर प्रहरीको मोबाइल खसेर फुट्नु नै विवादको मुख्य कारण देखिन्छ।
सार्वजनिक भएका सिसिटिभी फुटेजहरूमध्ये एउटा महिला नगर प्रहरी र उनीबिच लामो विवाद भएको सुनिन्छ। विवाद भएको दोस्रो सिसिटिभी फुटेजको दृश्य पनि सार्वजनिक भएको छ। तर त्यसमा आवाज छैन।
अडियो सहितको फुटेजमा नगर प्रहरीले उनको मोटरसाइकल रोकेपछि दुबैबीच भनाभन भएको सुनिन्छ। महिला नगर प्रहरीले उनलाई आफ्नो मोबाइल फालेर भागेको भन्दै ‘किन भागेको, मेरो मोबाइल किन फ्याकेको भन्दै हप्काइरहेको सुनिन्छ।
फुटेजको संवाद :
- “कहाँ जानु हुन्छ जानु”
-“के”
-“किन भागेर आएको? मेरो मोबाइल फ्याँकेर किन भागेको आएको?”
-गणेशले उत्तर दिन्छन् “कहाँ राख्या थियो।”
-“होटल क्याफे अगाडि।”
-“बाइकमा बसेको बेला लक लगाउँछ?”
-“मिल्दैन भने त। किन भागेर आएको क्या?”
-“लक लगाउने त”
-“नमिल्ने ठाउँमा बाइक रोकेपछि लक नलगाए लक नलगाएर माला लगाउने। जसले भनेको मान्दैन उसलाई लक लगाउने हो”
उनीहरुबीच बहस जारी देखिन्छ।
नगर प्रहरीले भन्छिन् “यो मोबाइल फुटाएको कसले उ गर्छ”
-“मैले फुटाएको हो?”
-“मोबाइल किन फालेर आएको त”
त्यसपछि गणेश बाइकबाट झरेर बाइकमा बसिरहेको बेलामा पनि लक लगाउन आउँछ भनेको सुनिन्छ।
सार्वजनिक भएको दोस्रो फुटेजमा उनले पेट्रोल कहाँबाट निकाले भन्ने देखिन्न। एक्कासि उनको शरीरमा आगो लागेको देखिन्छ। आगो लाग्दा उनी नजिकै महानगरीय प्रहरीको गाडी देखिन्छ। गणेशको शरीरमा आगो लागेको देखेपछि गाडी सडकको साइडमा लाग्छ।
उनी सडकमा लडिबुडी गरेर शरीरमा लागेको आगो निभाउने प्रयास गरिरहेका देखिन्छन्। त्यही बेलामा नगर प्रहरीको गाडीबाट कसैले फोमवाला निकालेको देखिन्छ। तर त्यो झन् आगोले सहजै टिप्ने भएकाले निकालेर आगो छोप्दैनन्। उनी लडिबुडी गर्दा गर्दै आगो निभ्छ।
तेस्रो भिडियोमा गणेश गम्भीर घाइते भएर सडकमा सुतिरहेको देखिन्छ। वरिपरि व्यक्तिहरू देखिन्छन् तर उनीहरूले गणेशलाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने प्रयास गर्दैनन्। उनी सडकमा छटपटाएरै बसिरहेका देखिन्छन्।
चौथो भिडियोमा बल्ल उनलाई एक प्रहरी र एक सर्वसाधारणले उनको हात समातेर पछाडिबाट सपोर्ट गरेर उनलाई सडकबाट हिँडाउँदै गरेको देखिन्छ।
यी चार सिसिटिभी फुटेजका आधारमा घटना हुनु अगाडि उनले त्रिपुरेश्वर क्षेत्रको सडकमा बाइक रोकेर त्यसमै बसेको बेलामा नगर प्रहरीले ह्विल लक लगाउन खोजेपछि विवाद गरेर उनी त्यहाँबाट बाइक लिएर हिँडेको देखिन्छ।
जब उनी बाइक लिएर हिँडे महिला नगर प्रहरीले उनलाई पछ्याएर आएर रोकेपछि विवाद भएको देखियो। विवादको कारण उनी किन भागेकोसँगै उनले महिला प्रहरीको मोबाइल फ्याकेको र फुटेको विवाद समेत जोडिएको देखियो।
उनी बाइकबाट ओर्लिएकोसम्म फुटेजमा देखिन्छ। त्यसपछि उनले बाइकबाट पेट्रोल निकालेर आफैँलाई खन्याएर आगो लगाएको देखियो।
प्रहरीमा दर्ता भएको घटना विवरण अनुसार घटना बिहीबार अन्दाजी १३:४५ बजेको समयमा भएको देखिन्छ। घटनास्थल त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट। त्यहाँ पार्किङ गरी राखेको बा.प्र. ०२-०४६ प ३२५० नम्बरको पल्सर गणेशको रहेको उल्लेख छ।
गणेश अचेत भएको अवस्थामा तत्काल उपचारको लागि प्रहरी हवल्दार विकास बुढाथोकीले बा २ ज १४५० नम्बरको ट्याक्सीमा राखेर वीर अस्पताल लगेको घटना विवरणमा उल्लेख छ।
“अवस्था बोल्न नसक्ने, गम्भीर रहेको, शरीरको विभिन्न भाग जलेको” गणेशको प्रारम्भिक अवस्थाबारे प्रहरी विवरणमा उल्लेख छ।
शरीरको ६० प्रतिशत बढी भाग जलेका उनको अवस्था गम्भीर भएपछि उपचारका लागि उनलाई अस्पताले आइसियुमा राखेर उपचार सुरु गरे पनि शुक्रवार दिउस ११ बजे मृत्यु भएको घोषणा भएको थियो।
असार २६, २०८३ शुक्रबार १७:१०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।