रोस्ट्रममा पुगेपछि भावुक बनेका गृहमन्त्री गुरुङको आक्रोश : 'मलाई स्टन्ट गर्ने इच्छा छैन, संसद्‌मा चिच्याएर मात्र हुन्न'

रोस्ट्रममा पुगेपछि भावुक बनेका गृहमन्त्री गुरुङको आक्रोश : 'मलाई स्टन्ट गर्ने इच्छा छैन, संसद्‌मा चिच्याएर मात्र हुन्न'

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर मृत्यु भएका २५ वर्षिया गणेश नेपालीलाई बचाउन सरकारले हरसम्भव प्रयास गरेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको समय लिएर बोलेका गुरुङले उक्त घटनालाई लिएर सांसदहरूले लगाएको ‘स्टन्ट’को आरोपप्रति आपत्ति जनाए।

सम्बोधनका लागि रोस्ट्रममा पुग्नासाथ केहीबेर भावुक देखिएका गुरुङ एकछिन नबोली बाहिरिएका थिए। पछि कानुनमन्त्री सोबिता गौतमले आग्रह गरेपछि पुनः रोस्ट्रम फर्किएर उनले आफ्नो धारणा राखे। गुरुङ आत्मदाह प्रकरणमा संघीय सरकारको कुनै भूमिका नरहेको भन्दै संसदमा उक्त घटनाबारे प्रश्न उठाउने सांसदहरू माथि कड्किए।

उनले भने, “मलाई स्टन्टबाजी गर्ने कुनै इच्छा छैन, देशको सेवा गर्न आएको हुँ। हिजो अस्पतालमा नेपालीको अवस्था बुझ्न कति जना सांसद पुग्नुभएको थियो ? घाँटी सुक्ने गरी चिच्याएर मात्र हुँदैन, जनताको सेवा गर्न काम गरेर देखाउनुपर्छ।”

उनले आफूले गरेको कामलाई स्टन्ट देख्ने भए सबै सांसदले त्यस्तै ‘स्टन्ट’ गरिदिए हुन्थ्यो भन्ने टिप्पणी समेत गरे। नेपालीको उपचारका लागि राति नै एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था जटिल भएका कारण लैजान नसकिएको जानकारी उनले सदनलाई गराए।

घटनामा संघीय सरकारको प्रत्यक्ष संलग्नता नरहेको संकेत गर्दै उनले भने, “उनको बाइकमा ह्विललक ट्राफिक प्रहरीले लगाएको हो कि महानगर प्रहरीले ? यो बुझ्न जरुरी छ।” उक्त घटनाको दोष स्थानीय सरकार र प्रदेश सरकारमाथि थोपर्ने उनको प्रयास थियो।

पछिल्लो समय आफूले धेरै दबाब र आलोचना खेपेको उल्लेख गर्दै गुरुङले अब आफूलाई ‘घुटन’ महसुस हुन थालेको बताए। आफू नागरिकको सुरक्षाका लागि रातभर खटिएको दाबी गर्दै उनले संसद्‌मा चर्को स्वरमा बोल्नेभन्दा पनि कार्यथलोमा गएर सेवा गर्न सांसदहरूलाई आग्रह गरे।

असार २६, २०८३ शुक्रबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।