संसद्‌मा सांसदहरूको विरोध : नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ?

संसद्‌मा सांसदहरूको विरोध : नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ?

काठमाडौं : मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न प्रतिनिधिसभा बैठकमा सांसदहरूले माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई समय दिएका थिए। 

थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरिन्। साथै हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने उनको भनाइ थियो। सुकुमबासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको थापाको आरोप छ। 

सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद भएको बताइन्। नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन्। सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि उनले बताइन्।

सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए। सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाए। युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो। 

असार २६, २०८३ शुक्रबार १६:०२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।