'के गरिब र विपन्नहरू राजधानीमा बाँच्नै नपाउने हो?'
काठमाडौं : मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहको घटनाको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सत्तामा पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाहको दृष्टिकोण फेरिएको हो भनी प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री शाहको विगतकै अभिव्यक्ति स्मरण गराउँदै नागरिकले आफ्नै शरीरमा आगो झोस्नुपर्ने अवस्था आउनुको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे।
नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्री शाहको २०७९ साल माघ १२ गते (२६ जनवरी २०२३) को स्टाटस उद्धृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।
पुनले भने, "एक जना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्। एक जना नागरिक आफूले चिनेका सबैलाई आफ्नो विगत र आगत वर्णन गर्दै आत्महत्या गर्न लागेको खबर गर्छन्। एक जना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र संकेत होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।"
नयाँ आशा र विश्वाससहित जनमत पाएर आएको सरकारकै पालामा नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आउनुलाई उनले राज्यको असफलताको सङ्केतका रूपमा चित्रण गरे। गरिब, विपन्न र सुकुमबासी वर्गका लागि मुलुकभित्र बाँच्न र गरिखाने वातावरण नभएको त होइन भनी उनले सरकारको जवाफ मागे।
पुनले भने, "प्रधानमन्त्रीज्यू हुनुहुन्छ, नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमतका साथ आउनुभएको छ। यो के राज्यको असफलता हो? या गरिब, दुःखी, विपन्न र सुकुमबासीहरू राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, गरी खान पाउँदैनन् भन्ने संकेत हो?"
असार २६, २०८३ शुक्रबार १५:३०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।