परिवारले गणेश नेपालीको शव बुझ्न मानेनन्, अस्पतालमा दबाब बढाउँदै प्रधानमन्त्री सचिवालयका सदस्य

परिवारले गणेश नेपालीको शव बुझ्न मानेनन्, अस्पतालमा दबाब बढाउँदै प्रधानमन्त्री सचिवालयका सदस्य

काठमाडौं : बिहीबार त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाउँदा गम्भिर घाइते भएका २५ वर्षीय गणेश नेपालीको मृत्युसँगै उनको परिवारका सदस्यले शव बुझ्न मानेका छैनन्।  

उपचारकाक्रममा वीर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएका नेपालीको पोष्टमार्टमका लागि समेत परिवारका सदस्यले सहमति जनाएका छैनन्। वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार नेपालीका आफन्तले शव बुझ्न मानेका छैनन्, पोष्टमार्टमका लागि पनि सहमति दिएका छैनन्।  

अस्पतालमा मृतकका दाजु मदन नेपाली, बहिनी र श्रीमती उपस्थित भए पनि उनीहरूले हालसम्म पोष्टमार्टम र शव बुझ्ने प्रक्रिया अगाडि बढाउन मानेका छैनन्। बुढाथोकीले परिवारको सहमति शव व्यवस्थापनको प्रयास भइरहेको बताए।

यसैबीच, घटनालाई सुल्झाउन र परिवारलाई शव बुझ्न सहमत गराउन प्रधानमन्त्री वालेन्द्र शाह सचिवालयका सदस्यहरू अस्पतालमै सक्रिय भएका छन्। सचिवालयका तर्फबाट अमृत, दीपा दाहाल र प्रकृति ढकाल अस्पताल पुगेर मृतकका आफन्तसँग अनौपचारिक छलफल र सहमतिको प्रयास गरिरहेका छन्। तर परिवारका सदस्यले मानेका छैनन्।

मुगुको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। राइड सेयरिङको काम गर्ने उनको पार्किङको विषयलाई लिएर काठमाडौं महानगरको नगर प्रहरीले मोटरसाइकलमा 'ह्विल लक' लगाइदिएपछि विवाद भएको थियो। 

शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेका नेपालीको वीर अस्पतालको बर्न आईसीयूमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो। अस्पतालकाका अनुसार उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको र बचाउने प्रयास सफल हुन सकेन। अहिले अस्पताल परिसरमा मृतकका आफन्त र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

असार २६, २०८३ शुक्रबार १५:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।