सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्यु भएको घटनामा प्रधानमन्त्री गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी ध्यान दिएको भन्दै गृहमन्त्री माथि प्रश्न उठाएका हुन्। शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनलाई कन्टेन्ट क्रियटरभन्दा नागरिकको जीवन रक्षक बन्न सुझाव दिए।
शाहीले भने, ‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो... साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। आज उनको जीवन बाँच्ने थियो।’
सरकारले नागरिकबाट औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको शाहीको भनाइ छ। उनले गृहमन्त्रीले जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी ध्यान दिएको आरोप समेत लगाए।
गृहमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै शाहीले भने, 'हामीलाई क्यामरामा गृहमन्त्री कहाँ हिँड्यो, आज कति युट्युब चलायो र कन्टेट कति क्रियट गर्यो महत्वपूर्ण कुरा होइन। गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलेमै उपचार गरिदिएको भए। एउटा प्लेन मात्र दिल्ली पठाएको भए,..... गणेश नेपालीको जीवन बच्थ्यो।'
असार २६, २०८३ शुक्रबार १४:४७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।