प्रधानमन्त्री शाहलाई कांग्रेस सचेतक थापाको व्यङ्ग्य : 'अब कालो चस्मा खोल्ने बेला आयो'
काठमाडौं : नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय मागेर बोल्दै थापाले नेपालीले त्रिपुरेश्वरमा आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्दा एम्बुलेन्स समेत नपठाएर राज्य मूकदर्शक बनेको आरोप लगाइन्।
“राज्य आतंकका कारण एक युवाले शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन। बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो," उनले प्रश्न गरिन्, "यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? उ देशद्रोही हो? उसले कसको विरुद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि यो देशमा जन्मियो कि यही देशमा केही गर्न खोज्यो।"
थापाले प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौंको मेयरका रूपमा आक्रोश पोख्ने बालेन शाह आज देशको प्रधानमन्त्री हुँदा किन मौन भन्दै प्रश्न गरिन्।
सांसद थापाले प्रधानमन्त्री शाहलाई विगत स्मरण गराउँदै भनिन्, “मिति २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको फेसबुक स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्री ज्यु? हिजोको घटनामा तपाईँको यो मौनता किन?”
उनले थप प्रश्न गरिन्, “विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ?
सांसद थापाले वर्तमान सरकार जनताको ज्यान जोगाउने र मानवीय संवेदनशीलता बुझ्ने भन्दा पनि सामाजिक सञ्जालमा 'लाइक' बढाउने ध्याउन्नमा लागेको आरोप लगाइन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहले 'कालो चस्मा खोल्ने बेला आएको' भन्दै व्यङ्ग्य समेत गरिन्।
हिजो मात्रै धोबीखोलामा हाम फालेर एक व्यक्तिको मृत्यु भएको र यसअघि सुकुमवासीलाई उठीबास लगाउँदा दुई जनताले ज्यान गुमाएको स्मरण गराउँदै उनले प्रश्न गरिन्, "प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो? अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातमा हरियो रङ पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन।"
असार २६, २०८३ शुक्रबार १४:०८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।