आत्मदाह प्रयास गरेका गणेशको उपचारको क्रममा मृत्यु, डाक्टर भन्छन्- ‘डेढ घण्टादेखि उहाँलाई गाह्रो भएको थियो’

आत्मदाह प्रयास गरेका गणेशको उपचारको क्रममा मृत्यु, डाक्टर भन्छन्- ‘डेढ घण्टादेखि उहाँलाई गाह्रो भएको थियो’

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय युवा गणेश नेपालीको मृत्यु भएको छ।

वीर अस्पतालको बर्न आईसीयूमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो।

उपचारमा संलग्न डा. अपार लामिछानेले उकेरासँगको कुराकानीमा गणेश नेपालीको मृत्यु भएको पुष्टि गरेका छन्।

‘शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेकाले उहाँको अवस्था सुरुदेखि नै गम्भीर थियो,’ उनले उकेरासँग भने, ‘एक/डेढ घण्टादेखि उहाँलाई गाह्रो भएको थियो। ११ बजेर १९ मिनेटमा हामीले डिक्लेयर गर्यौँ।’

मुगुको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्ने गणेश काठमाडौंमा राइड सेयरिङको काम गर्थे। बिहीबार दिउँसो उनले आफ्नो मोटरसाइकल राहदानी विभाग अगाडिको सडकमा पार्क गरेका थिए।

सोही क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै उनको बाइकमा ‘ह्विल लक’ लगाइदिएको थियो।

बाइकमा लक लगाएपछि नगर प्रहरीसँग उनको विवाद भएको र सोही आक्रोशमा उनले आफ्नै बाइकबाट पेट्रोल झिकेर शरीरमा खन्याई आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अन्तिम वाक्य- ‘यो सबै महानगरले गर्दा हो’
अस्पतालको बेडबाट गणेशले आफ्ना दाइ मदन नेपालीलाई भनेका थिए, ‘यो सबै महानगरका कारण यस्तो भयो। बाबा-मम्मीलाई केयर गर्नु।’

यो घटनालाई लिएर बिहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसद युवराज दुलालले सरकारको आलोचना गर्दै ‘राहदानी नपाएको झोकमा’ युवाले आत्मदाह गरेको दाबी गरेका थिए। तर, लगत्तै राहदानी विभाग र ट्राफिक प्रहरीले विज्ञप्ति जारी गर्दै उक्त दाबीको खण्डन गरे।

राहदानी विभागले गणेश विभागको कुनै कामको सिलसिलामा त्यहाँ नआएको प्रस्ट पारेको थियो भने ट्राफिक प्रहरीले पनि आफ्नो कारबाहीका कारण घटना नभएको स्पष्टीकरण दिएको थियो।

मृतकको शव अहिले पोस्टमार्टमका लागि तयारी गरिँदै छ।

असार २६, २०८३ शुक्रबार १२:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।