चुरियामाई मन्दिर परिसरमा बस्दै आएका एक सन्तको मृत्यु
हेटौंडा : मकवानपुर र बाराको सीमा क्षेत्रमा पर्ने चुरियामाई मन्दिर परिसरमा विगत ३ वर्षदेखि बस्दै आएका एक सन्तको उपचारका क्रममा मृत्यु भएको छ।
भारतबाट आएर चुरियामाई मन्दिर नजिकैको टहरामा बस्दै आएका अन्दाजी ४२-४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो।
नाम, थर र ठेगाना नखुलेका ती सन्त बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-२२ मा पर्ने टहरामा बिरामी अवस्थामा फेला परेका थिए। चुरियामाईको मुख्य मन्दिर मकवानपुरमा परे पनि ती सन्त बस्ने टहरा र हिँड्ने बाटो बारा जिल्लामा पर्दछ।
बिहीबार राति करिब ११ बजे उनी बिरामी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक गौरीशंकर साहको कमान्डमा टोली खटिएको थियो। प्रहरीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारकै क्रममा शुक्रबार मध्यरात १२:०५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव अहिले हेटौँडा अस्पतालमै राखिएको छ र उनको पहिचान खुलाउने प्रयास भइरहेको छ।
असार २६, २०८३ शुक्रबार ११:०४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।