आत्मदाह प्रयासको घटनाबारे संसद्मा पहिले बोल्ने चक्करमा चिप्लिए सांसद युवराज दुलाल
काठमाडौं : बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आत्मदाहको प्रयास गरे।
मुगुका २५ वर्षीय गणेश नेपालीले शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा यो समाचार तयार पार्दासम्म उनी वीर अस्पतालको आईसीयूमा मृत्युसँग जुधिरहेका छन्। तर, यो घटनालाई लिएर प्रतिनिधि सभामा भने एउटा फरक दृश्य देखियो।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले आकस्मिक समय माग गरेर बोल्दै बोल्दै यो घटनालाई ‘राहदानी नपाएको आक्रोश’सँग जोडे।
उनले संसद्मा भने, ‘राहदानी विभाग अगाडि एक अज्ञात पुरुषले आत्मदाहको प्रयास गर्नुभएको छ। सरकारले घरघरमा राहदानी पुर्याउने उद्घोष गरेको थियो, तर आज राहदानी दिन ढिलाइ गरेकै कारण उहाँले आत्मदाह गर्नुपरेको कुरा प्रारम्भिक रूपमा आएको छ।’
सांसद दुलालले थपे, ‘म सरकार खोज्न चाहन्छु, कति जना नागरिकले शरीरमा आगो लगाएपछि राहदानी घर-घरमा पुग्ने हो?’
के थियो त वास्तविकता?
सांसद दुलालले संसदमा सरकारलाई घेर्न खोज्दा जुन ‘तथ्य’ समाते, त्यो पूर्णतः गलत सावित भयो। घटनाको केही समयमै राहदानी विभागले विज्ञप्ति जारी गर्दै घाइते नेपाली विभागको कुनै पनि कामको सिलसिलामा त्यहाँ नआएको स्पष्ट पार्यो।
राइड सेयरिङ को काम गर्ने गणेश नेपालीले आफ्नो मोटरसाइकल निषेधित क्षेत्रमा पार्किङ गरेका थिए। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनको बाइकमा ‘ह्विल लक’ लगाइदिएपछि विवाद सुरु भएको थियो।
अस्पतालको बेडबाट गणेशले आफ्ना दाइ मदनलाई भनेका शब्दहरू थिए, ‘यो सबै महानगरका कारण भएको हो, बाबा-मम्मीलाई केयर गर्नु।’
प्रत्यक्षदर्शी र प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि नगर प्रहरीको व्यवहार र जरिवानाको तनावका कारण उनले आवेगमा आएर आफ्नै बाइकबाट पेट्रोल निकाली शरीरमा खन्याएको देखाएको छ।
घटनाका बारेमा काठमाडौं महानगरकाे महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले अनलाइनखबरसँगको कुराकानीमा आफूहरूले नियमित काम गर्दा दुर्घटना हुन पुगेको बताएका छन्। साढे ११ बजे महानगर प्रहरीले ह्वील लक गरेको मोटरसाइकल लिनका लागि नेपाली साढे १ बजे मात्र त्यहाँ आइपुगेको उनको दाबी छ।
‘नियमित रूपमा कानुनको पालना गर्ने/गराउने शिलशिलामा यस्तो अप्रिय घटना हुन पुग्यो यसमा हामीलाई पनि दु:ख लागेको छ। यसको कारक तत्व हामी होइनौँ।’
ट्राफिक प्रहरीको स्पष्टीकरण
यसैबीच, सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले जरिवाना तिराएका कारण आत्मदाह गरेको भन्ने भ्रम फैलिएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि एक प्रेस विज्ञप्ति जारी गरेको छ।
सूचना अधिकारी नरेशराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ट्राफिक प्रहरीले निजलाई जरिवाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्।’
पहिले बोल्ने चक्करमा ‘चिप्लिए’ सांसद
संसदीय अभ्यासमा सांसदहरूले समसामयिक र गम्भीर मुद्दामा आवाज उठाउनु स्वभाविक हो। तर, सांसद युवराज दुलालले घटनाको संवेदनशीलता र सत्यतथ्य नबुझी केवल ‘हेडलाइन’ बनाउने र सरकारको आलोचना गर्ने हतारो गर्दा उनी नराम्ररी चिप्लिएका छन्।
जुन घटना नगर प्रहरीको पार्किङ नीतिका कारण उब्जिएको आवेगसँग जोडिएको थियो, त्यसलाई उनले ‘राहदानी वितरणको सुस्तता’सँग जोडेर संसदलाई नै गलत सूचना दिए।
घाइतेको अवस्था ६० प्रतिशतभन्दा बढी शरीर जलिसकेकाले गम्भीर छ। तर, यस्तो मानवीय संवेदना जोडिएको विषयमा जिम्मेवार जनप्रतिनिधिले नै हचुवाका भरमा अभिव्यक्ति दिँदा यसले संसदीय गरिमामाथि नै प्रश्न उठेको छ।
राहदानी विभाग हालको प्रणालीबाट नयाँ प्रणालीमा जानका लागि भन्दै असार २५ र २६ गते राहदानी सेवा बन्द हुने सूचना असार १९ गते नै जारी गरिसकेको थियो भने असार २४ गते अर्को सूचना निकालेर त्यस अवधिमा राहदानी वितरणको काम भने जारी नै रहने समेत जानकारी गराएको थियो।
अहिले प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान गरिरहेको छ।
असार २६, २०८३ शुक्रबार ०९:१९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।