घाइते गणेशको उपचार खर्च सरकारले बेहोर्ने, भारत लैजाने सरकारी तयारी
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफैँले आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको टिमले सञ्चालन गरेको ह्वाट्सएप ग्रुपमा राखिएको विवरण अनुसार वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान लैजाने तयारी गरिएको छ।
नेपालीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू वीर अस्पतालमा पुगेको र उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिबारे प्रत्यक्ष जानकारी लिएको सो सन्देशमा उल्लेख छ।
चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले नेपालीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न निर्देशन दिएको सो सन्देशमा उल्लेख छ।
शरिरको ६० प्रतिशत भन्दा बढी भाग जलेर गम्भीर भएका नेपालीको वीरको आइसियुमा उपचार भइरहेको छ। उनको अवस्था क्रिटिकल रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्।
असार २६, २०८३ शुक्रबार ००:३७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।