'बालेनको पुलिस होइन' भन्ने अभिव्यक्ति दिएका कारण डिएसपी चौधरीलाई जिल्ला नतानिएको प्रहरीको प्रष्टीकरण

'बालेनको पुलिस होइन' भन्ने अभिव्यक्ति दिएका कारण डिएसपी चौधरीलाई जिल्ला नतानिएको प्रहरीको प्रष्टीकरण

काठमाडौं :  नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको बताएका छन्।

कैलालीको घोडाघोडी नगरपालिका- ५ दरखमा आयोजित लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा डिएसपी चौधरीले आफूहरू 'बालेनको प्रहरी नभई नेपाल प्रहरी' भएको र 'केपी ओलीलाई समेत थुन्ने प्रहरी' भएको भनेका थिए। उनले प्रहरी निर्वाचित नभई प्रतिस्पर्धाबाट छानिएर आएका व्यवसायिक व्यक्ति भएको बताएका थिए।

डिएसपी चौधरीले भनेका थिए, "हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो। अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो। र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो।" यस घटनापछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको थियो। 

डिएसपी चौधरीको सार्वजनिक उक्त अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनिएको समाचार प्रकाशित भएका थिए। तर, नेपाल प्रहरीका प्रवक्ता काफ्लेले उक्त समाचारमा कुनै सत्यता नरहेको बताए।

उनले भनेका छन्, “उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्बनमा पर्नुभएको छ। नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो। यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौं। कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन।”

काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए। 

उनले भने, “विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ। विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ। त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौं।”

काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको भन्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट गरे।

असार २५, २०८३ बिहीबार २१:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।