फर्जी तमसुक र मसाल जलाएर मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

फर्जी तमसुक र मसाल जलाएर मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर : मिटरब्याज पीडितका समस्या समाधानका लागि विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै देशभरका मिटरब्याज पीडितहरूले जनकपुरधामदेखि काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन्।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन्। पैदल मार्च सुरु गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाएका थिए।

साथै उनीहरूले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन्। पैदल मार्च सुरु गर्नुअघि लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए।

उनले प्रधानमन्त्री बन्नुअघि वालेन्द्र शाहले जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि सय दिन बितिसक्दा पनि आफूहरूलाई बेवास्ता गरेको गुनासो पोखे।

अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरूप पुनः पैदल मार्च गर्नुपरेको बताए। काठमाडौं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ थियो।

उनले मिटरब्याज पीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमाडौंसम्मको पैदल यात्रामा सहभागी हुन आग्रह गरे।

असार २५, २०८३ बिहीबार २१:१९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।