पेट्रोल छर्किएर आगो लगाएका युवाको स्वास्थ्य अवस्था 'क्रिटिकल', घटनाको कारण अस्पष्ट
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका करिब २५ वर्षका युवाको शरीरको करिब ६० प्रतिशत भाग जलेकाले स्वास्थ्य अवस्था गम्भीर देखिएको छ।
वीर अस्पतालमा उपचाररत ती युवाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख प्लास्टिक सर्जन प्रा. डा. पीयूष दाहालले बताएका हुन्।
“उहाँको स्वास्थ्य अवस्था क्रिटिकल छ,” उनले उकेरासँगको कुराकानीमा भने, “टाउको, छाती र हातजस्ता शरीरका अंग जलेका छन्।”
जलेर घाइते भएका ती युवा होसमा नै भए पनि बोली भने सानो भएको उनले जानकारी दिए। तर, उनको स्वास्थ्य अवस्था बिस्तारै गम्भीर हुँदै जाने जोखिम रहेको डा. दाहालले जानकारी दिए।
अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका ती युवाको प्राथमिक र आकस्मिक उपचारपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उनले बताए। जलनका कारण ती युवाको श्वासप्रश्वासमा समेत समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।
बिहीबार साढे पाँच बजे उकेरासँगको कुराकानीमा डा. दाहालले आकस्मिक उपचारपछि वीर अस्पतालको ‘बर्न आइसियु’मा राखेर उपचार गर्ने तयारी रहेको बताए। बीर अस्पतालमा ती युवालाई उपचारका लागि करिब साढे तीन बजेतिर पुर्याइएको उनी बताउँछन्।
आत्मदाह प्रयासको कारण अस्पष्ट
त्रिपुरेश्वरस्थित राहदानी विभाग गेट अगाडि आफैँले पेट्रोल झर्किएर आगो लगाएका युवा मुगुको सोरूँ गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली रहेको खुलेको छ। प्रारम्भमा उनी राहदानी विभागमा गएको भनिए पनि विभागले विज्ञप्तिमार्फत उनी राहदानी सम्बन्धी कामका लागि नआएको दाबी गरेको छ।
ती युवाले राहदानी विभाग अगाडी मोटरसाइकल पार्किङ गरेको र बाइकमा प्रहरीले व्हिल लक लगाइदिएको खुलेको छ। बाइक पार्किङको विषयमा नगर प्रहरीसँग विवाद भएपछि ह्विलमा लक लगाएपछि उनले बाइकबाटै पेट्रोल झिकेर शरीरमा आगो लगाएको दाबी समेत आएका छन्।
उनको बाइकमा महानगरको लक लागे पनि आत्मदाहको प्रयासको कारण भने खुलेको छैन। उनीबारे जानकारका अनुसार उनी पठाओबाट चालकको काम गर्दै आएका थिए।
असार २५, २०८३ बिहीबार २१:०१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।