नेपाल टेलिकम बिलिङ सिस्टम अपग्रेड प्रकरणमा पौडेलसहित सबैलाई सफाइ
काठमाडौं : नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचार भएको भनिएको मुद्दामा पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबै प्रतिवादीहरूले सफाइ पाएका छन्।
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार अभियोग दाबी बमोजिमको कसुर पुष्टि नभएको भन्दै सफाइ दिने फैसला सुनाएको हो।
बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यस मुद्दामा ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
सफाइ पाउनेहरूमा सुनिल पौडेल, संगीता पहाडी (अर्याल), झिविन्द्रलाल उपाध्याय, नवल चौधरी, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमृत प्रधान, राजिवकुमार के.सी., सन्तोष कुमार श्रेष्ठ, हेमप्रभा कर्ण, मुक्तिप्रसाद अर्याल, परमात्मा भट्टराई र एसियाइन्फो कम्पनीका प्रतिनिधिहरू रहेका छन्।
विशेष अदालतले अभियोग दाबी बमोजिमको भ्रष्टाचार पुष्टि हुन नसक्ने देखिएकाले सबै प्रतिवादीहरूलाई सफाइ पाउने ठहर्छ भन्ने फैसलामा उल्लेख छ।
असार २५, २०८३ बिहीबार १९:५८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।