बाल मन्दिर प्रकरणमा ठगीमा अनुसन्धान, तत्कालीन शाखा प्रमुख र सभापतिसहित तीन जना पक्राउ
काठमाडौँ : नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल बाल संगठन र बाल मन्दिरसम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदनको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
सिआइबीका अनुसार नेपाल बाल संगठनबाट अनियमित रूपमा रकम लिई ठगी गरेको सम्बन्धमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर असार २४ गते उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका आशा श्रेष्ठ नेपाल बाल संगठनको तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख हुन्। ओमकृष्ण कर्माचार्य ललितपुरका तत्कालीन सभापति हुन्। राजेन्द्र कुमार श्रेष्ठ बाल संगठन, जिल्ला कार्य समिति काठमाडौँका तत्कालीन सचिव हुन्।
पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ। बाल मन्दिरको सम्पत्ति र कोषमा भएको भनिएको उक्त ठगी प्रकरणमा उनीहरूको संलग्नताबारे प्रहरीले हिरासतमा राखी थप विस्तृत अनुसन्धान अगाडि बढाएको सिआइबीको विज्ञप्तिमा उल्लेख छ।
असार २५, २०८३ बिहीबार १९:५४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।