पेट्रोल छर्की आगो लगाएका नेपाली कार्यालयमा सेवा लिन नआएको राहदानी विभागको दाबी
काठमाडौं : राहदानी विभागले त्रिपुरेश्वरस्थित आफ्नो कार्यालयको गेट अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाहको प्रयास गरेका युवा राहदानी वा कन्सुलर सेवा लिन आएका नदेखिएको जनाएको छ।
विभागले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर आगोले जलेर घाइते भएका मुगुको सोरु गाउँपालिका- १ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली विभागको सेवा लिन आएको नदेखिएको प्रस्ट पारेको हो।
कार्यालयको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको विवरण र सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा उनी राहदानी वा कन्सुलर सेवा लिन आएको कतैबाट पुष्टि नभएको विभागले जनाएको छ।
त्रिपुरेश्वरस्थित विभागको गेट बाहिर नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रमुख प्लास्टिक सर्जन प्रा. डा. पियुस दाहालका अनुसार करिब ६० प्रतिशत भाग जलेकाले नेपालीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ।
राहदानी विभाग गेट अगाडि नेपालीले पार्किङ गरेको राखेको मोटरसाइकलमा प्रहरीले 'व्हिल लक' लगाइदिएको खुलेको थियो। प्रहरीले मोटरसाइकलमा व्हिल लक लगाइदिएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको भनिएको छ।

असार २५, २०८३ बिहीबार १९:४०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।