सरकारको सय दिनमा जनता खुसी हुने ठाउँ छैन, एकछिन खुसी हुन फुटबल हेर्नुपर्छ : केपी ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको सरकारको सय दिनमा जनता खुसी हुने कुनै काम नभएको टिप्पणी गरेका छन्।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सुकुमबासी बस्तीमा डोजर चलाएर बालबालिकालाई रुवाउने सरकारसँग खुसी हुने ठाउँ नरहेकाले एकछिन खुसी हुनका लागि पनि फुटबल हेर्नुपर्ने अवस्था आएको बताए।
"बालबालिकाका धरधरी रोएका फोटोहरू आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ," ओलीले भने, "नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन। सरकारको व्यवहार अचम्मको छ। नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन।"
सरकारको व्यवहार अपरिपक्व र अस्थिर रहेको टिप्पणी गर्दै उनले सय दिनका काम उम्लिएको दूध अवस्था जस्तो देखिएको टिप्पणी गरे। "अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुईँमा छन् ? उम्लिएका छन्," ओलीले भने, "दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ।"
फरक प्रसङ्गमा उनले एमाले समाप्त भएको भन्ने टिप्पणीप्रति पनि आपत्ति जनाउँदै एमाले देश निर्माण र सफलताका लागि जन्मिएको पार्टी भएको बताए। एमाले कठिन परिस्थितिमा पनि अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै उनले पार्टी नआत्तिने र नमात्तिने बताए।
"मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन्। एमाले सकिन जन्मेको पार्टी होइन । यो त बढ्न, सफल हुन र देश बनाउन जन्मेको पार्टी हो," उनले भने।
असार २५, २०८३ बिहीबार १८:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।