नेकपा सांसद रमेश कुमार हमालको प्रश्न - हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन?
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले सरकार विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले सरकारले आफूलाई तीव्र गतिमा अगाडि बढेको देखाउन खोजे पनि संस्थागत र कानुनी प्रक्रियालाई बेवास्ता गरेको बताए।
सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनले भने, "वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ। सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन्। सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पर्दैन्।"
डिजिटलाइजेसन र अल्गोरिदमको प्रसंग जोड्दै उनले सरकारको निर्णय प्रक्रियाको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाए।
"कतै त्यो गाडी अटो ड्राइभमा त छैन। सरकार प्रमुख गाडीको सिटमा हुनुहुन्छ तर त्यसको सफ्टवयेर त्यसको अल्गोरिदम कसै द्वारा सञ्चालित त छैन," उनले प्रश्न गरे।
सांसद हमालले सुशासनको नारा लिएर बनेको सरकार व्यवहारमा भने प्रतिशोधपूर्ण र नागरिकलाई आतङ्कित तुल्याउने खालको रहेको बताए।
"हिजो संसद्मा पहिला थुन्ने अनि सुन्ने भन्ने प्रश्न उठेको थियो। तर मलाई त्यस्तो लाग्दैन। सरकार पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने नीतिमा अघि बढिरहेको छ," हमालले थपे।
उनले सुशासन र कानुनी दायरा सत्ता पक्षका लागि लागू नभए जस्तो देखिएको भन्दै आक्रोश पोखे।
सरकार प्रमुखदेखि सत्तामा रहेका व्यक्तिहरू पारदर्शिता र जवाफदेहिताबाट पन्छिन नमिल्ने उल्लेख गर्दै उनले सरकारलाई विधिको शासनप्रति प्रतिबद्ध हुन आग्रह गरे।
असार २५, २०८३ बिहीबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।