गृहजिल्लामै नेता पूर्णबहादुरलाई झट्का, क्रियाशील सदस्यता अद्यावधिकको पक्षमा निर्णय

गृहजिल्लामै नेता पूर्णबहादुरलाई झट्का, क्रियाशील सदस्यता अद्यावधिकको पक्षमा निर्णय

काठमाडौं : पार्टी क्रियाशील सदस्यता अद्यावधिक विपक्षमा उभिएको समूहको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेत पनि सदस्यता अद्यावधिकको पक्षमा उभिएको छ। 

जिल्ला सभापति खड्गबहादुर पोखरेलको अध्यक्षता र केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलको उपस्थितिमा असार १७ गते बसेको बैठकले सुर्खेतका नौ वटै स्थानीय तहमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण अभियानलाई अगाडि बढाउने निर्णय गरेको थियो।

बैठकले सुर्खेतको भौगोलिक अवस्था र इन्टरनेटको समस्याका कारण केन्द्रले तोकेको समय (असार २० गते) भित्र कार्य सम्पन्न गर्न कठिन हुने भएकोले म्याद थपका लागि अनुरोध गरेको थियो। जिल्ला कार्यसमितिले असार २७ गतेसम्म समय थपिदिन केन्द्रीय क्रियाशील सदस्यता व्यवस्थापन समितिलाई पत्राचार गरेको सचिवद्वय वालदिप कँडेल र देवकुमार सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सदस्यता अद्यावधिकका लागि जिल्लाका ९ वटै पालिकामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन्। प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापतिहरूसँग समन्वय गरी अभियानलाई यथाशीघ्र सम्पन्न गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

असार २५, २०८३ बिहीबार १५:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।