त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। विभागको ३ नम्बर गेट अगाडि ती पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आगो लाग्ने बित्तिकै प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ। घाइतेको विस्तृत पहिचान खुल्न बाँकी रहेको भट्टराईले जानकारी दिए।
आत्मदाहको प्रयास अघि ती पुरुषको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएको विषयमा विवाद भएको थियो। यद्यपि, घटनाको आधिकारिक कारण भने खुल्न बाँकी छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र वस्तुस्थितिको जानकारी लिन घटनास्थलको सीसीटीभी फुटेज अध्ययन भइरहेको छ।
असार २५, २०८३ बिहीबार १५:२८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।