नक्कली कागजात बनाएर चोरीका मोटरसाइकल बेच्ने गिरोह पक्राउ; चक्कु प्रहार गर्ने फरार अभियुक्त पनि समातिए

नक्कली कागजात बनाएर चोरीका मोटरसाइकल बेच्ने गिरोह पक्राउ; चक्कु प्रहार गर्ने फरार अभियुक्त पनि समातिए

बुटवल : भारतबाट मोटरसाइकल चोरी गरी नेपालमा नक्कली कागजात बनाएर बिक्री गर्ने एक संगठित गिरोहलाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन गर्दै गिरोहका चार सदस्यसहित ११ वटा चोरीका सवारीसाधन र कागजात किर्ते गर्न प्रयोग गरिने उपकरणहरू बरामद गरिएको जानकारी दिएको हो।

प्रहरीका अनुसार यो गिरोहले भारतबाट मोटरसाइकल चोरी गरी नेपाल ल्याउने, त्यसमा नेपाली नम्बर प्लेट राख्ने र नक्कली ब्लुबुक तयार पारेर सर्वसाधारणलाई बिक्री गर्ने गरेको पाइएको छ।

पक्राउ पर्नेहरूमा बुटवलका २९ वर्षीय अशोक सारु, १९ वर्षीय सरोज उपाध्याय, ३६ वर्षीय महेन्द्र गुरुङ र २७ वर्षीय विकास केसी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर, नक्कली ब्लुबुक बनाउन प्रयोग गरिने ल्यापटप, कलर प्रिन्टर, सरकारी छाप र स्टाम्प प्याड बरामद गरेको छ। गिरोहमा संलग्न अन्य तीन जना अझै फरार छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार बुटवलको कालिकानगरमा गरिएको नियमित चेकजाँचका क्रममा एक मोटरसाइकलको ब्लुबुक शंकास्पद देखिएपछि अनुसन्धान सुरू गरिएको थियो।

अनुसन्धानका क्रममा बुटवलस्थित एक ‘कानुन कन्सल्टेन्सी’मा छापा मार्दा त्यहाँबाट सरकारी अधिकृतको नक्कली छाप र किर्ते कागजात फेला परेको थियो।

प्रहरीका अनुसार यो गिरोहको मुख्य योजनाकार नवलपरासीमा रहेर बिरामी अवस्थामा पनि सञ्जाल सञ्चालन गरिरहेको खुलेको छ। पक्राउ परेका विकास केसी यसअघि पनि ज्यान मुद्दा र लागूऔषधसहित पाँचवटा विभिन्न मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन्।

चप्पल कुल्चिएको विषयमा चक्कु प्रहार गर्ने अभियुक्त दाङबाट पक्राउ
यसैबीच, बुटवलको कालिकानगरस्थित ‘द कन्सेप्ट क्लब’ बाहिर दुई युवकमाथि चक्कु प्रहार गरी फरार भएका २१ वर्षीय सुमित गुरुङलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।

असार २८ गते बिहान क्लबबाट बाहिरिने क्रममा सामान्य विवाद हुँदा गुरुङले युवकहरूको घाँटीमा चक्कु प्रहार गरेका थिए।

प्रहरी अनुसन्धानका अनुसार क्लबबाट निस्कने क्रममा एक युवकले सुमितकी प्रेमिकाको चप्पल कुल्चिएपछि भनाभन सुरू भएको थियो।

सोही विवाद बढ्दै जाँदा सुमितले चक्कु प्रहार गरी फरार भएका थिए। प्रहरीले उनलाई दाङको तुलसीपुर-११ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सुमित गुरुङ पनि पुराना अपराधी हुन्। उनी यसअघि ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० असोजमा मात्र रिहा भएका थिए।

रुपन्देहीका प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले चोरी, किर्ते र ज्यान मार्ने उद्योग जस्ता गम्भीर अपराधमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको र फरारहरूको खोजी भइरहेको बताए।

असार २५, २०८३ बिहीबार १३:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।