जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको यातायात सेवा रोक्का, लाइसेन्स नवीकरण र नामसारीमा प्रतिबन्ध
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी जरिवाना बापतको रकम राज्यकोषमा दाखिला नगर्ने चालकहरूलाई सरकारले कडाइ गरेको छ।
२ लाख ६१ हजारभन्दा बढी सवारी चालकले लामो समयदेखि जरिवाना नतिरेपछि उनीहरूलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट वञ्चित गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जरिवाना तिर्न बाँकी रहेका चालकहरूले अब नयाँ सवारीसाधन खरिद र दर्ता, सवारीसाधनको नामसारी, लाइसेन्स नवीकरण र यातायात कार्यालयबाट प्रदान गरिने अन्य कुनै पनि प्रशासनिक सेवा पाउन सक्छन्।
ट्राफिक प्रहरीले जरिवाना नतिर्ने चालकहरूको विस्तृत विवरण यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराइसकेको छ। सोही विवरणका आधारमा यातायात कार्यालयले आफ्नो प्रणालीबाटै ती चालकहरूको सेवा रोक्का गरेको हो।
ट्राफिक प्रहरी उपरीक्षक तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अब कुनै पनि सेवा लिनुअघि सम्बन्धित चालकले जरिवाना तिरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
‘जरिवाना बापतको रकम पूर्ण रूपमा दाखिला नगरेसम्म रोक्का भएका सेवाहरू सुचारु हुने छैनन्’, उनले भने।
प्रहरीले जरिवाना तिर्न बाँकी रहेका चालकहरूलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कार्य समेत सुरु गरेको छ। यसअघि जरिवाना तिर्न अटेर गर्ने प्रवृत्ति बढेपछि प्रहरीले यो कडा कदम चालेको हो।
यस कदमको मुख्य उद्देश्य सडक अनुशासन कायम गर्नु र ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास गर्नु रहेको प्रहरीको भनाइ छ।
जरिवाना नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दा सडकमा हुने लापरबाही कम हुने र राज्यकोषमा राजस्व संकलन समेत प्रभावकारी हुने विश्वास गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र बाँकी रहेको जरिवाना समयमै बुझाएर कानुनी झमेलाबाट बच्न आग्रह गरेको छ।
असार २५, २०८३ बिहीबार १३:२३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।