एमाले सांसद बरालको प्रश्न : नियमावली प्रतिपक्षका लागि मात्रै हो?
काठमाडौं : एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद सञ्चालनमा सत्तापक्ष र प्रतिपक्षबीच विभेद भइरहेको भन्दै आपत्ति जनाइन्।
प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयलाई लिएर संसदको रेकर्डबाट हटाउने वा रुलिङ गर्ने काम नभएको प्रति आक्रोश पोख्दै उनले भनिन, “यदि यो नियमावली प्रतिपक्षको लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्, सत्तापक्षका लागि होइन भनेर, होइन भने यो विषयमा सम्माननीय सभामुखमार्फत रुलिङ गरिदिनुस्।”
सांसद बरालले सुकुमवासी नागरिकको अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराइन्। गरिब नागरिकलाई विस्थापित गर्ने वा न्यून रकम दिएर सडकमा धकेल्ने काम मानवअधिकारको विषय भएको उनको भनाइ थियो।
संसद्को गरिमा र समान व्यवहारको कुरा उठाउँदै उनले सरकारका कतिपय निर्णयहरू लोकप्रियता कमाउने र प्रचारका लागि मात्रै आएको हो कि दीर्घकालीन विकासका लागि हो भन्दै प्रश्न समेत गरिन्। विशेष गरी सार्वजनिक यातायातको रङ परिवर्तन गर्ने निर्णयप्रति सङ्केत गर्दै उनले जनताका वास्तविक समस्या, सुकुमवासी व्यवस्थापन, शोषण र दमनका विरुद्ध सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।
असार २५, २०८३ बिहीबार १२:२३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।