कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति
काठमाडौं : सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री पोखरेलले बताए।
कारागार नियमावली,२०८३, मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८), भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री पोखरेलले बताए।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ।
असार २४, २०८३ बुधबार १७:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।