सिंहदरबारभित्रै ‘शरणार्थी’ स्वास्थ्य मन्त्रालय : सेनाको गणमा सचिव र कर्मचारी, मन्त्रीको कार्यकक्ष सामान्य प्रशासनमा
काठमाडौं : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा मन्त्रालय ‘शरणार्थी’ जस्तै अवस्थामा छ।
बालेन शाह नेतृत्वको सरकार बनेको सय दिन बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयको स्थायी भवनको व्यवस्थापन हुन सकेको छैन।
जनताको स्वास्थ्यसँग जोडिएको यति संवेदनशील मन्त्रालयका मन्त्री एकातिर, सचिव अर्कोतिर र कर्मचारीहरू अर्कोतिर छरिएर काम गर्न बाध्य छन्।
मन्त्री सरे पनि मन्त्रालय टहरामै
सोमबार सिंहदरबारभित्रको भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा पुग्दा भित्तामा एउटा नयाँ ‘नेमप्लेट’ देखियो- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता।

साविकको संघीय मामला तथा सामान्य मन्त्रालयको मन्त्री बस्ने कार्यकक्षमा मन्त्री मेहता सरेकी रहिछन्। मन्त्रीको च्याम्बर अगाडिको ‘वेटिङ’ हलमा केही युवायुवती बसेर काम गरिरहेको देखियो। उनीहरू मन्त्रीको सचिवालयको टोली रहेछन्।
मन्त्री मेहता यो भवनमा सरेको धेरै भएको छैन। गत चैत १३ मा स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रीका रूपमा नियुक्त भएपछि उनले सिंहदरबारभित्रै रहेको नेपाली सेनाको नरसिंहदल गणको प्राङ्गणमा रहेको एउटा अस्थायी टहराबाट कार्यभार सम्हालेकी थिइन्।
मन्त्रालय समायोजन हुनुअघि उनी खानेपानी मन्त्री पनि थिइन्। त्यसैले विशेष पाहुना भेट्न उनी खानेपानी मन्त्रालयको भवनमा जान्थिन् भने अन्य कामका लागि सेनाको टहरामा बस्थिन्।

करिब दुई हप्ताअघि मात्रै उनी अहिलेको सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेकी हुन्। तर, मन्त्री सरे पनि मन्त्रालयका कर्मचारीहरू भने अझै पनि सेनाको गणभित्रकै टहरा र कन्टेनरमा कष्टपूर्ण रूपमा काम गरिरहेका छन्।
कन्टेनरभित्र सचिव, टहरामा कर्मचारी
बिहीबार सेनाको नरसिंहदल गणको प्राङ्गणमा पुग्दा दृश्य अर्कै थियो। मन्त्रालयका प्रशासनिक प्रमुख, स्वास्थ्य सचिव डा. विकास देवकोटा एउटा अस्थायी कन्टेनरभित्रको कार्यकक्षमा बसेर काम गरिरहेका थिए।

अन्य कर्मचारीहरू पनि सेनाको गणभित्र राखिएका करिब दुई दर्जन अस्थायी टहरा र विश्व स्वास्थ्य संगठनले आकस्मिक अवस्थाका लागि बनाइदिएका ६ वटा अस्थायी कन्टेनरमा बसेर काम गरिरहेका छन्। ती कन्टेनर र टहराभित्र कोही पङ्खा त कोही एसीको सहायताले वातावरण मिलाउँदै काम गरिरहेका देखिन्छन्।

यसरी हेर्दा स्वास्थ्य मन्त्रालय अहिले तीनतिर छरिएको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सिंहदरबार बाहिर रामशाहपथमा रहेको स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा जनसंख्या महाशाखा, गुणस्तर मापन, विपद् व्यवस्थापन एकाइ र लेखा शाखा छन्।
सिंहदरबारभित्र सेनाको गणमा नीति योजना, प्रशासन र समन्वय जस्ता महाशाखाहरू छन् भने मन्त्री र उनको सचिवालय सामान्य प्रशासनको भवनमा छन्।
विद्रोहले जलाएको इतिहास र खण्डहर भवन
भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’मा रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलाइएपछि अहिले मन्त्रालय टहरा र कन्टेनरमा खुम्चिएको हो।
भ्रष्टाचार र सुशासनको मुद्दा उठाउँदै गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा २३ गते राज्य पक्षबाट १९ जना मारिएपछि २४ गते हिंसा भड्कियो।

सो क्रममा आक्रोशित भीडले संसद् भवन र सर्वोच्च अदालतसँगै रामशाहपथमा रहेको ऐतिहासिक स्वास्थ्य मन्त्रालयको भवनलाई पनि जलाएर खरानी बनाए।
भदौ २७ मा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेपछि जल्नबाट बचेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम सुरु भयो।
पछि विश्व स्वास्थ्य संगठनले सेनाको गणभित्र अस्थायी संरचना बनाइदिएपछि मन्त्रालय त्यहाँ सरेको थियो।

तत्कालीन स्वास्थ्य मन्त्री डा. सुधा शर्माले ती संरचना बुझेर काम थालेकी थिइन्। वैशाख ३१ मा बालेन सरकारले मन्त्रालयहरू गाभ्दै १८ वटामा झारेपछि यसको नाम ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ राखिएको छ।
कहिले पाउला स्थायी भवन?
आगजनीबाट ध्वस्त भएको पुरानो ऐतिहासिक भवन अब मर्मत गरेर पनि प्रयोग गर्न नमिल्ने प्राविधिक टोलीको निष्कर्ष छ।
मन्त्रालयलाई संघीय संसद् सचिवालयको भवन नम्बर ‘१’ दिने निर्णय त भएको छ, तर संघीय संसद्को नयाँ भवनको निर्माण कार्य पूरा नभएकाले हालसम्म त्यो भवन खाली भएको छैन।

यसरी देशको स्वास्थ्य कमान्ड गर्ने मन्त्रालय नै आफ्नै घर नभएर शरणार्थी जस्तै अर्काको भवन र सेनाको टहरामा बस्नुपर्ने अवस्था आएको छ।
बालेन सरकार बनेको सय दिन बितिसक्दा पनि मन्त्रालयको स्थायी भवनको व्यवस्थापन भएको छैन।
असार २४, २०८३ बुधबार १४:५२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।