विवादपछिको दोस्रो बैठकमा सांसद राईले दिए स्पष्टिकरण, अघिल्लो बैठकको अभिव्यक्ति रेकर्डबाट हटाइयो
काठमाडौं : एमाले सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीचको चर्काचर्कीका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद राईले आफ्नो व्यवहारप्रति स्पष्टीकरण दिएका छन्।
दोस्रो बैठकमा बोल्ने समय पाएका राईले अघिल्लो बैठकको विवादलाई ‘आवेगको परिणाम’ भन्दै सभामुखप्रति आफ्नो पूर्ण सम्मान रहेको बताए।
बुधबारको पहिलो बैठकमा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न?’ भन्दै प्रश्न गरेपछि विवाद सुरु भएको थियो।
सभामुखले यसलाई पदको अपमान र संसदको अवहेलना भन्दै राईको माइक काटिदिएका थिए। त्यसपछि एमाले सांसदहरूको विरोध र रास्वपा सांसद ज्वाला सङ्ग्रौलाको आपत्तिपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
दोस्रो बैठकमा राईको संयमता
स्थगनपछि सुचारु भएको दोस्रो बैठकमा सांसद राई निकै सजक र संयमित रूपमा प्रस्तुत भए।
उनले सभामुखप्रति आफ्नो असाध्यै सम्मान रहेको स्पष्ट पार्दै भने, ‘मैले भाषा मिलाउन खोज्दै थिएँ, तर तपाईँले जसरी हतासमा मेरो माइक काट्नुभयो, त्यसो नगर्नुभएको भए हुने थियो। कतिपय कुराहरू आवेगमा आएर पनि समस्या हुँदोरहेछ।’
उनले संसद्मा माननीयहरूले आफ्ना भावना र विचार प्रस्तुत गर्न पाउनुपर्ने जिकिर समेत गरे।
प्रधानमन्त्रीलाई रुलिङ गर्न माग
बैठकमा संयमित देखिए पनि सांसद राईले सरकारको भूमिकामाथि भने कडा प्रश्न उठाए। उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरे।
‘नियमावली अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता संसद्मा जवाफ दिनुपर्ने व्यवस्था छ, तर उहाँ किन आउनुहुन्न?’ राईले प्रश्न गरे, ‘प्रधानमन्त्री वालेन्द्र शाहलाई रोष्ट्रममा उभ्याएर उहाँले हिजो नेपालको सिमानाबारे दिनुभएको विचारहरूबारे स्पष्ट पार्न माग गर्दछु।’
अभिलेखबाट हटाइयो अभिव्यक्ति
सांसद राईले आफ्नो धारणा राखिसकेपछि सभामुख डीपी अर्यालले बुधबारको पहिलो बैठकमा राईले बोलेका सम्पूर्ण विवादास्पद अभिव्यक्तिहरू संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन निर्देशन दिए।
यसअघि सभामुखले राईलाई माफी मागेर भनाइ सच्याउन भनेका थिए, तर राईले सच्याउनुको साटो ‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न’ भन्दै थप चुनौती दिएपछि स्थिति गम्भीर बनेको थियो।
दोस्रो बैठकमा राईको स्पष्टीकरण र सभामुखको निर्देशनपछि संसद्को कारबाही अघि बढेको छ।
असार २४, २०८३ बुधबार १३:००:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।