जग्गा विवादमा चक्कु प्रहार हुँदा रौतहटमा एक जनाको मृत्यु, एक घाइते

जग्गा विवादमा चक्कु प्रहार हुँदा रौतहटमा एक जनाको मृत्यु, एक घाइते

रौतहट : रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी पुरानो विवाद बल्झिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्।

मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहा घर भई लामो समयदेखि औरैयास्थित ससुराली घरमा बस्दै आएका ६० वर्षीय वुटन साह रहेका छन्। चक्कु प्रहारबाट उनको पिठ्युँमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइए पनि चिकित्सकले मङ्गलबार राति मृत घोषणा गरेका हुन्।

उक्त घटनामा परी वुटनका ८० वर्षीय ससुरा रामबहादुर साह समेत घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा लामो समयदेखि ससुराली घर बस्दै आएका साहको मृत्यु भएको हो।

असार २४, २०८३ बुधबार १२:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।