संसद्‍मा एमाले सांसदको अमर्यादित बोली, सभामुखले सच्याउन समय दिँदा भने- ‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न’

संसद्‍मा एमाले सांसदको अमर्यादित बोली, सभामुखले सच्याउन समय दिँदा भने- ‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न’

काठमाडौं : एमाले सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीच प्रतिनिधिसभा बैठकमा चर्काचर्की भएपछि संसद्को कारबाही प्रभावित भएको छ।

सांसद राईले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अपमानजनक शब्द प्रयोग गरेपछि विवाद उत्पन्न भई बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुख अर्याललाई ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न?’ भन्दै प्रश्न गरेका थिए।

सांसदको यस्तो अभिव्यक्तिप्रति सभामुखले तत्कालै कडा आपत्ति जनाएका थिए। सभामुखले राईलाई मर्यादामा बसेर बोल्न निर्देशन दिँदै सभामुख र सदनकै अपहेलना गरेको भन्दै उनलाई बोल्नबाट रोकेका थिए।

सभामुखले राईलाई भनेका थिए, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुहोला। माननीय सदस्यले सभामुख र सभाको अपहेलना गर्दै हुनुहुन्छ, त्यसकारण बस्नुस्।’

सभामुखले बोल्न नदिएपछि एमालेका अन्य सांसदहरूले पनि उठेर विरोध जनाएका थिए।

दोस्रो पटकको प्रयास र थप विवाद
स्थिति केही शान्त बनाउन सभामुखले सांसद राईलाई आफ्नो भनाइ सच्याउन र माफी माग्न दोस्रो पटक समय दिएका थिए। तर, राईले आफ्नो बोली सच्याउनुको साटो उल्टै सभामुखमाथि नै प्रहार गरे।

उनले भने, ‘तपाईंले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’

यति भनेपछि सभामुखले हत्त न पत्त प्रतिनिधि सभाको बैठक स्थगित गरे।

रेकर्डबाट हटाउन माग
सांसद राईको उक्त भनाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला सङ्ग्रौलाले पनि तीव्र आपत्ति जनाइन्। उनले सांसद राईले संसदीय मर्यादा विपरीत बोलेको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

सांसद र सभामुखबीचको विवादले उग्र रूप लिएपछि र सदनमा नाराबाजी र विरोध जारी रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

असार २४, २०८३ बुधबार १२:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।