‘फिफाले १०० टिमको विश्वकप गराउँदा पनि नेपाल पर्दैन कि भन्ने चिन्ता लाग्छ’

‘फिफाले १०० टिमको विश्वकप गराउँदा पनि नेपाल पर्दैन कि भन्ने चिन्ता लाग्छ’

काठमाडौं : विश्वकप फुटबलको रौनकले विश्व तातिरहेका बेला नेपाली फुटबल समर्थक भने ‘नेपाल कहिले पुग्ला?’ भन्ने एउटै प्रश्नमा अल्झिएका छन्।

५ लाख जनसंख्या भएको केप भार्डे र १.५ लाख जनसंख्या भएको काराकाओ जस्ता टापु राष्ट्रहरूले विश्व फुटबलमा चमत्कार गर्दा ३ करोड नेपालीको सपना भने घरेलु विवाद र कुशासनको चेपुवामा छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा लामो समयदेखि स्वयंसेवक चिकित्सकका रूपमा कार्यरत डा. पदमबहादुर खड्कासँग उकेराकर्मी अमृत पुडासैनीले नेपाली फुटबलको दुर्दशा, खेल नीति र स्पोर्ट्स मेडिसिनको अभावमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश:

विश्वकप तपाईंलाई पनि छोपेको होला, हेर्न भ्याउनुभएको छ?
म सन् १९९० देखि विश्वकप हेरिरहेको छु। यो मेरो हेराइको ३६औं वर्ष भयो। त्यो बेला ब्ल्याक एन्ड ह्वाइट टिभी हुन्थ्यो। १९८६ को च्याम्पियन अर्जेन्टिनालाई क्यामरुनले हराएको खेल मलाई अझै याद छ। पहिला ब्राजिल, जर्मनी, अर्जेन्टिना जस्ता केही देशका खेलाडी मात्र चर्चित हुन्थे।

अहिले त प्रविधिले खेललाई धेरै सजिलो र पारदर्शी बनाइदिएको छ। तर विडम्बना, विश्वकपको यो रोमाञ्चकता हेरिरहँदा आफ्नै देशको फुटबल संघ (एन्फा) निलम्बन र विवादको पीडामा छ। हामी अरूको खेल हेरेर रमाउने मात्र भएका छौँ।

यस पटक केप भर्ड र काराकाओ जस्ता साना देशको प्रदर्शनले धेरैलाई अचम्मित तुल्यायो नि!
यो नै फुटबलको सुन्दरता हो। केप भर्डको जनसंख्या ६ लाख छ, काराकाओको जम्मा डेढ लाख। तर उनीहरूले मैदानमा देखाएको क्षमता लोभलाग्दो छ।

इटाली जस्तो चार पटकको च्याम्पियन छनोटमै नपर्नु र नयाँ टिमहरूले उचाइ लिनुले के प्रमाणित गर्छ भने- फुटबलमा अब ‘इतिहास’को मात्रै ब्याज खाएर पुग्दैन। त्यहाँ पूर्वाधार, प्यासन र सहि रणनीति चाहिन्छ।

साना देशले विश्वलाई सन्देश दिएका छन्- यदि क्यापेबल छ भने जसले पनि जित्न सक्छ। तर हामी ३ करोड भएर पनि पुरुष फुटबलमा १७७औं स्थानमा खुम्चिएका छौँ।

नेपाल किन पछि पर्यो? हाम्रो कमजोरी खेलाडीमा छ कि नीतिमा?
खेलाडीमा क्षमता नभएको होइन। सावित्रा भण्डारी (साम्बा)लाई हेर्नुस् न, उनले विश्वका ठूला लिगमा आफूलाई प्रमाणित गरिन्। जुम्लाकी सुनमाया बुढाले इटालीमा १२० किलोमिटरको अल्ट्रारेस जितिन्।

समस्या ‘जीन’मा होइन, हाम्रो ‘सिस्टम’मा छ। खेलकुदमा राजनीति, गुटबन्दी र नातावादको क्यान्सर फैलिएको छ। राखेप र खेल संघहरूमा खेलाडी उत्पादन गर्ने चिन्ता छैन।

त्यहाँ त राजनीतिक दलका कार्यकर्ता, गुण्डा र डनहरू भर्ती गर्ने गरिन्छ। सक्षम मान्छे गेममा पर्दैन, सबैले आफ्नै मान्छे छान्छन्। खेलको नाममा विदेश घुम्न जाने र भत्ता पचाउने बाहेक अरू सोच देखिँदैन।

तपाईं स्पोर्ट्स मेडिसिन विज्ञ पनि हुनुहुन्छ। नेपाली खेलाडीको फिटनेस र उपचारको अवस्था कस्तो छ?
यहाँ त स्पोर्ट्स मेडिसिनको नाम सुन्दा पनि हाँसो उठ्छ। मेडिसिन भनेको डाक्टरले औषधि दिने र जाँच्ने मात्र बुझिन्छ। तर अन्तर्राष्ट्रिय स्तरमा स्पोर्ट्स मेडिसिनभित्र फिजियोथेरापिस्ट, डाइटिसियन, साइकोलोजिस्ट, बायोमेकानिक्स विज्ञ र न्युट्रिसनिस्ट जस्ता १०-१२ वटा विधा हुन्छन्।

हाम्रोमा एउटा खेलाडीलाई ‘चना र अण्डा’ अनि ५०० रुपैयाँ भत्ता दिएर विश्वकपको सपना देखिन्छ। राखेपमा एउटा स्थायी हाडजोर्नी डाक्टरसम्म छैन।

खेलाडीलाई चोट लाग्दा कसरी खेलमा फर्काउने भन्ने कुनै वैज्ञानिक पद्धति छैन। साम्बा जस्ता पहुँच भएकाले सहयोग पाउलान्, तर साम्बा बन्दै गरेका हजारौँ प्रतिभा चोटकै कारण पलायन भइरहेका छन्।

राखेपले यसतर्फ ध्यान नदिएको हो र?
राखेपको प्राथमिकतामा जनशक्ति उत्पादन कहिल्यै परेन। उनीहरूको ध्यान सामान खरिद गर्ने र स्टेडियम बनाउनेमा मात्रै हुन्छ। किनभने त्यहाँ मोटो ‘कमिसन’ आउँछ।

स्वास्थ्यकर्मी भर्ना गर्दा वा खेलाडीको डाइटमा लगानी गर्दा कमिसन आउँदैन, त्यसैले त्यता चासो छैन। एसियन गेम जस्ता ठूला प्रतियोगितामा खेलाडीभन्दा बढी मन्त्रालयका कर्मचारी, पत्रकार र नेताका नातेदारहरूको ‘जन्ती’ जान्छ। यो विडम्बना होइन?

उसो भए नेपाली फुटबलको ‘स्वर्ण युग’ फेरि फर्काउन सकिँदैन त?
३०-५० वर्षअघि हामी भारतलाई पनि सजिलै हराउँथ्यौँ। त्यो बेलाको स्वर्ण युगबाट हामी अहिले ‘कलियुग’मा छौँ। एउटा खेलाडी तयार पार्न ७ देखि १२ वर्षकै उमेरमा सीप सिकाउनुपर्छ।

स्पेनका यमाल वा ब्राजिलका पेलेले १७ वर्षमै विश्वकपमा गोल गर्नुको अर्थ उनीहरू सानैदेखि वैज्ञानिक पद्धतिमा तयार पारिएका थिए। हामीले पनि ‘मल्टी-डिसिप्लिनरी’ टिम बनाएर काम गर्नुपर्छ। खेलाडीलाई सेन्टरमा राखेर राजनीति र भ्रष्टाचार मुक्त खेल नीति ल्याउनुपर्छ।

अन्त्यमा, के नेपालले कुनै दिन विश्वकप खेल्ने सम्भावना छ?
सपना देख्नु राम्रो हो, तर आजको यथार्थ निकै तीतो छ। मेरो छोराले मलाई यही प्रश्न सोध्दा मैले भनेको थिएँ- ‘नेपालले कहिले विश्वकप खेल्ला भन्नुभन्दा पनि, यदि फिफाले १०० वटा टिम सहभागी गरायो भने पनि नेपाल पर्छ कि पर्दैन भन्ने चिन्ता छ।’

अहिलेको हाम्रो कछुवा गति र स्वार्थी नेतृत्वले गर्दा मेरो नाति-पनातिको पालामा केही होला कि भन्नुपर्ने अवस्था छ।

यदि इमानदार भएर आजैबाट ग्रासरुटमा काम गर्ने हो भने मात्र केही आशा गर्न सकिन्छ, नत्र हामी सधैँ अरूकै देशको जर्सी लगाएर टेलिभिजन अगाडि चियर्स गरिरहने ‘दर्शक’ मात्र बन्नेछौँ।

असार २४, २०८३ बुधबार ११:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।