आसिफको विष्फोटक ब्याटिङमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

आसिफको विष्फोटक ब्याटिङमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी
फाइल तस्बिर

काठमाडौं : एसीसी प्रिमियर कप अघि मंगलबार भएको एकदिवसीय अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको जित निकाल्यो।

मलेसियाको क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा भएको खेलमा २२८ रनको संशोधित लक्ष्य नेपालले २८ ओभरमै पूरा गर्यो। नेपालको जितमा ओपनर आसिफ शेखले विष्फोटक ब्याटिङ गरे। ८५ बलको सामना गरेका उनले १२ चौका र १२ छक्कासहित १६१ रनको योगदान दिए।

पहिलो विकेटका लागि आसिफ र अर्जुन कुमालबीच २२० रनको दोहोरो शतकीय साझेदारी भएको थियो। अर्जुन ८२ बलमा ७ चौकासहित ६१ रनमा अविजित रहे। मलेसियाका तर्फबाट अस्लाम खान मलिकले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो। नेपालका तर्फबाट कप्तान सन्दीप लामिछानेले ४ र करण केसीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीको नाममा १-१ विकेट रह्यो।

खेलको दौरान वर्षा भएपछि ४८ ओभरमा छोट्याइएको खेलमा नेपालले डकवर्थ लुइस पद्धतिका आधारमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो। 

भदौ ९, २०८३ मंगलबार १४:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।